Logo

सुन्तला बिक्रीबाट २१ लाख आम्दानी

म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर २१ लाख आम्दानी गरेका छन् ।
२० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यस वर्ष २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला बिक्री भएको जानकारी दिए ।
बगैंचामा आएर सुन्तला खरिद गरेर पोखराका व्यापारीले लगेका छन् । सरदर ७० प्रतिकिलोका दरले सुन्तला बिक्री गर्दा कम्तीमा २१ लाख भित्रिएको कृषक गिरीले बताए । “एक घरले सरदर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।” गत वर्ष १५ लाख बराबरको सुन्तला निकासी भएको थियो । अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तला खेती गरेर वार्षिक तीन लाख आम्दानी गरेको भेडाबारीका कृषक बेम गिरीले बताए ।
अन्नबालीको भन्दा सुन्तलाबाट धेरै गुणा फाइदा छ । उपयुक्त हावापानी र अनुकुल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । भेडाबारीमा दुई हजार पाँच सय उत्पादन दिने सुन्तलाका बिरुवा छन् । नयाँ बिरुवा थपिने क्रमसँगै वर्षेनि उत्पादन पनि बढेको छ । न्युनतम एक सयदेखि पाँच सय बोटसम्म सुन्तला खेती गरेका छन् । बगैंचाभित्र तरकारी, अदुवा र बेसार खेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।
भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ । नजिकै मुहान भएपनि सुन्तला बगैचामा सिँचाई गर्न खानेपानीको पाइपको धारामा निर्भर हुनुपरेको छ । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाई पु-याउन सुन्तला कृषकलाई सुनौती छ ।

प्रतिक्रिया दिनुहोस्