डेरी खुलेसँगै किसानलाई दूध बेच्न सहज

दोलखा-भीमेश्वर नगरपालिका वडा नं. ८ बोचका गंगाधर रेग्मी उमेरले ८० नाघिसके ।
उमेरले उनलाई घरमै आराम गरेर बस्नु पर्ने हो तर उनी कुनै युवा जवानझै बिहान घाम नझुल्कँदै दूध बोकेर नजिकैको डेरीमा आइपुग्छन् । डेरीमा पुगेर दूध दिन्छन्, दूधको पैसा लिन्छन् र घरमै पुग्छन् । उनको यो दैनिकी २५ वर्षदेखि निरन्तर छ । आफूले पालेको गाईको स्याहार गर्ने, घाँसपात आफैं ल्याउने गर्छन् । २५ वर्ष अघिदेखि दूध बेच्दै आएका रेग्मी एक्लै बस्नुभन्दा केही केही जानेको काम गर्नु पर्ने बताउँछन् ।
आजभोली धेरै युवाहरु गाउँमा भविष्य नदेखेर सहर पस्ने र विदेश जाने गर्छन् जसले गाउँ रित्तिदै गएका छन् । तर गरे गाउँमै छ भन्ने उदाहरण यी ८० वर्षिय वृद्ध पनि हुन् । युवाहरुलाई गाउँमै जाँगर गरे सबै छ मेहेनत गर्न उनको सुझाव छ ।
बोचका रेग्मी जस्तै आजभोली धेरै किसानले बिहानै दूध बिक्री गर्छन् । एका बिहानै दूध बोकेर डेरीमा पुग्ने र त्यहाँबाट आफ्नो खर्च लिएर फर्कन्छन् । बोच घुम्तीमै रहेको समर्पण डेरी उद्योगमा दैनिक ८० जना भन्दा बढीले दूध बिक्री गर्छन् ।
विभिन्न टोलमा समूह बनाएर अनुदानमा दुधालु जर्सी गाई खरिद गरेपछि बोचका किसान व्यावसायिक बनेका हुन् । दैनिक दूध बिक्री गर्न थालेपछि जीविकोपार्जनका लागिसमेत सहयोग पुगेको छ ।
किसानले गाई पालन गरेर दूध धेरै ल्याउन थालेपछि स्थानीयस्तरमै डेरी सञ्चालन भएको छ । हुन त चरिकोटमा दुग्ध विकास संस्थानको दोलखा डेरी छ । तर त्यहाँ किसानले उचित मूल्य नपाएपछि स्थानीय डेरीमै दूध दिन थालेका हुन् ।
समर्पण दूध संकलन तथा प्रशोधन डेरी उद्योगकी सञ्चालक सुशीला तामाङ किसानहरुले दूध ल्याएकैले आफ्नो उद्योग चलेको बताउँछिन् । यसमा दैनिक ७ सय लिटरसम्म दूध संकलन हुन्छ । स्थानीय डेरीमा संकलन भएको दूध चरिकोट, दोलखा सिंगटी, मैनापोखरी, मुडे लगायतका बजारसम्म पुग्छ । बजारमा बिक्री नभएको दूधबाट छुर्पी, घिउ, पनिर, दही जस्ता सामग्री उत्पादन हुन् ।
गाउँघरमा किसानहरु गाई भैसीं पाल्ने परम्परागत पेशा हो । तर दूध बिक्री गरेर पैसा लिनु पर्छ र यसैबाट व्यापार हुन्छ भन्ने कामको सुरुवात भएको धेरै भएको छैन । परम्परागत रुपमा पाल्ने गाई भंैसी पाल्ने पेशा छाड्दै गएका बेला दूधालु जर्सी गाई पालेर थोरै पालेर पनि धेरै दूध उत्पादन हुन्छ भन्ने स्थानीयस्तरमा ग्रामीण पुर्ननिर्माण संस्थाले ६ वर्षअघि भूकम्पपछि गाउँमा आएपछि सिकायो । समूह बनाएर किसानलाई प्रतिगाई ३० हजार अनुदान दिएर ७५ वटा गाई गाउँ भित्र्याएपछि किसानले दूध बिक्री गर्न थालेका हुन् ।