Logo

अलैंचीको उत्पादन घट्यो, मूल्य बढ्यो

खोटाङमा यो वर्ष अलैंची उत्पादन घटेको छ । अघिल्लो वर्ष ७८७.३६ मेट्रिकटन अलैंची उत्पादन भएको जिल्लामा यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिकटन मात्र उत्पादन भएको हो ।
यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैंची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । अलैंचीको फूल खेल्ने समयमा लगातार वर्षासँगै असिना पानी पर्दा उत्पादन घटेको कृषकको भनाइ छ । अलैंची उत्पादनमा गिरावट आए पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष मूल्य भने बढेपछि केही राहत मिलेको केपिलासगढी गाउँपालिका–१ फेदीका अलैंची कृषक मनकुमार तामाङले बताए ।
“चैत वैशाखको समयमा अलैंची फुल्छ, उचाइ अनुसार भदौदेखि कात्तिक महिनाभित्रमा अलैंची फल टिप्नुपर्ने हुन्छ” कृषक तामाङले भने, “यो वर्ष फूल खेलेको समयमा असिना पानी परेर फूल झ-यो, त्यसैले उत्पादन घटेको हो ।”
अघिल्लो वर्ष ५ मन अलैंची उत्पादन गरेका तामाङले २० देखि २५ हजार रुपैयाँ प्रति मन बिक्री गरेका थिए । “यो वर्ष उत्पादन आधा घटेर ३ मन पनि उत्पादन भएन, तर प्रति मन ४५ हजार रुपैयाँ बिक्री हुँदा थोरै राहत चाहिँ मिलेको छ” कृषक तामाङले भने ।
खोटाङमा २०४५ सालबाट अलैंची उत्पादन गर्न सुरु गरिएको हो । सुरुवाती चरणमा राम्रो आम्दानी भएपछि अलैंची खेतीप्रति किसानमा आकर्षण बढेको थियो । तर, पछिल्लो समय उत्पादनमा गिरावट, बजारीकरणमा समस्या र मूल्यमा अस्थिरता आदि कारणले किसान केही चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्