एशियन लाइफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश पारित

एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको तेह्रौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६-०७७ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृति लिन र कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिएको छ ।
२१ चैत २०६४ देखि कारोबार सञ्चालन गरेको कम्पनीको २०७८ पुस मसान्त सम्ममा ३० अर्ब जीवन बिमा कोष र करिब ३० अर्ब लगानी तथा कर्जा रहेकोे बताइएको छ । यसैगरी कम्पनीले चालु आव २०७८-०७९ को पुस मसान्तसम्ममा एक अर्ब ६ करोड २४ लाख प्रथम बिमाशुल्क संकलन गरेको छ ।
कम्पनीले सो अवधिमा ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बिमाशुल्क आर्जन गरेको छ । कम्पनीले ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बिमा सेवा प्रदान गर्दै आएको जनाएको छ । ग्राहकको आवश्यकता अनुसार कम्पनीले लघु, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिकसहित २६ वटा जीवन बिमा योजना प्रचलनमा ल्याएको छ ।