Logo

ग्रामीण बजारमा फष्टाउँदै अखाद्य वस्तुको व्यापार

जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले फाँटफुट रूपमा गर्ने बजार अनुगमन पनि प्रायः मुख्य बजार केन्द्रित मात्रै हुन्छ । १-२ महिनाको एक पटक गरिने बजार अनुगमन त्यो बजार सदरमुकाम केन्द्रित हुँदाको असर ग्रामिण बजारमा देखिएको छ ।
गाउँमा अखाद्य वस्तु व्यापार फष्टाएको छ । ग्रामिण व्यापारीहरूले नागरिकको सोझोपनको फाइदा उठाउँदै मनपरी रुपमा म्याद नाघेका सामान बस्ने गरेका छन् । भने, चेतना र शिक्षाको अभावले गाउँका नागरिक थाहा नपाएरै दैनिक अखाद्य वस्तु प्रयोग गरिरहेको पाइएको छ ।
लामो समयपछि जिल्ला प्रशासन कार्यालय जुम्ला अगुवाईमा कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला बजारमा गरिएको अनुगमनले ब्यापक अखाद्य बस्तुको विक्री भइरहेको भेटिएको छ । गोठीज्युलाको सानो बजारमै अनुगमनका क्रममा १५ जना व्यापारीले म्याद नाघेका सामान विक्री गरेको भेटिएको हो ।
गाउँघरमा बढी प्रयोग हुने चाउचाउ,बिस्कुट,चक्लेट, दालमोट, फेण्टा, जुसलगायतका सामानहरू अखाद्य बिक्री भएको पाइयो । सहाक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले भनिन, “गोठीज्युलाका १५ जना व्यापारीको ६० हजार बराबरको अखाद्य वस्तु जलाएर नष्ट गरेका छौं । व्यापारीले म्याद नाघेका सामान जानी जानी बेच्ने गरेको भेटियो । नागरिकमा शिक्षाको अभावले पनि गठिएका छन् । अबका बजार अनुगमन ग्रामिण बजार केन्द्रित हुन्छन् ।”
अब बाट गोठीज्युला बजारमा खाद्य, खुद्रा र मेडिकलबाट सामान खरिदबिक्री गर्दा मिति हेरेर मात्रै किनबेच गर्न व्यापारी स्थानीयलाई सम्झाइएको सहायक प्रजिअ रिजालको भनाइ छ ।
गोठीज्युला बजार उदाहरण मात्रै हो,जुम्लाको सिंजाको नराकोट,चौधविसका डिल्लीचौर, लासी, उर्थु, पेरे, बजार पानसय क्षेत्रको तातोपानी, लितोकोट, एैरेनी, कुडारी, त्रिबेणी, रारालिहि बजार, भेरीखोला क्षेत्रको ताम्ती, कयारकोट, सर्मी टोप्लाका साना ग्रामीण बजारमा मनपरी रूपमा अखाद्य बस्तु बिक्री भइरहेको छ । ठुला बजारका व्यापारीले म्याद नाघेका, म्याद गुज्रिन थालेका दैनिक उपभोग्य सामग्री तिनै साना बजारमा पठाउने गरेका छन् ।
बजार अनुगमन ग्रामीण बजार केन्द्रित नहुँदा व्यापारीले अखाद्य वस्तु बेचेर नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको स्पष्ट छ । अबको बजार अनुगमन गाउँ केन्द्रित हुनुपर्ने नागरिक अगुवा राजबहादुर महतको माग छ ।
गोठिज्युला बजार जस्तै जिल्लाभरीनै छड्के अनुगमन हुन आबश्यक छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा भन्छन्, “म्याद नाघेका सामग्री बेचबिखनका विषयमा ठूला डिलरवाला व्यवसायी देखि साना व्यापारी सम्म दोषी छन् । मिलेमत्तोमै अखाद्य वस्तु बिक्री भइरहेको छ । अनिवार्य मुल्य सूची टाँस्नु पर्ने, मिति हेरेर मात्रै सामान किन्ने विषयमा नागरिक व्यापारिकबीच चेतनामूलक कार्यक्रमको खाँचो छ ।”
फोटो क्याप्सनः गोठीज्युला बजार अनुगमनबाट जफत गरिएको अखाद्य वस्तु । तस्बिरः सागर परियार ।

प्रतिक्रिया दिनुहोस्