Logo

जीप दुर्घटनामा आठ जनाको मृत्यु

लुम्बिनी-प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हँुदा आठ जनाको मृत्यु भएको छ ।
तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् ।
लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् । दुर्घटनामा परी घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
यस्तै दुर्घटनामा परी आठजनाको मृत्यु भएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री केसीले शनिबार एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बस र ट्रक जुध्दा तीनको मृत्यु
सुनसरीको कोसी गाउँपालिका–१ लौकहीस्थित खुनियाधारमा शुक्रबार राति बस र ट्रक दुर्घटनामा मृत्यु भएका तीनजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबंगाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
मृत्यु भएका सबैजनाको स्वास्थ्य परीक्षणपछि परिवारजनले शव बुझेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये नौजनाको न्युरो अस्पताल विराटनगर र एकजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंको यात्रुवाहक बस एकापसमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनापछि बस र ट्रकमा अचानक आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ भने सवारीसाधन पूर्ण रुपले जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय तहबाट गएको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्