काभ्रेमा ३० प्रतिशत आवास निर्माण «

काभ्रेमा ३० प्रतिशत आवास निर्माण

काभ्रे-भूकम्प गएको करिब ४५ महिना चलिरहँदा काभे्रका ३० प्रतिशत भूकम्पपीडितले मात्र आवास निर्माण सम्पन्न गरेर तेस्रो किस्ता बुझेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांकअनुसार ३० प्रतिशत निजी आवास प्राधिकरणको नियमअनुसार निर्माण भइसकेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीका अनुसार जिल्लामा ८२ हजार ८ सय ३३ भूकम्पपीडितको लाभग्राहीमा नाम प्रकाशित भएको छ । जसमध्ये ७१ हजार ९ सय ७८ परिवारले अनुदान सम्झौता गरेका छन् । ४५ हजार ८ सय १२ परिवारले दोस्रो किस्ताको अनुदान लिइसकेका छन् । अन्तिम किस्ताको रकम २५ हजार १ सय ५६ परिवारले मात्र निजी आवास सम्पन्न गरेर तेस्रो किस्ता लिएका छन् । जिल्लामा अझै १० हजार ८ सय ५५ परिवारले अझै अनुदान सम्झौता गर्न आएका छैनन् । वैदेशिक रोजगार, जग्गाको विवाद, सुकुम्वासी, विस्थापित परिवारका कारण सम्झौता हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
भूकम्पपीडितलाई सरकारले रकम फिर्ता गर्न दिएको पुस १५ सम्ममा जम्मा सातजनाले नगद ५० हजार रुपैयाँ फिर्ता गरेका छन् । झुक्याएर रकम लिएको उजुरी जिल्लामा परेको भए पनि अझै थुप्रै लाभग्राहीले रकम फिर्ता गर्न आलटाल गरिरहेका छन् भने पुस मसान्तसम्ममा दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणको बाध्यकारी नियमले आवास निर्माणमा लागत बढेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्