क्यान्सर रोकथाममा स्थानीय सरकारको भूमिका

पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।
स्वास्थ्य सेवामा कार्यान्वयन भएका विभिन्न कार्यक्रमको फलस्वरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशुु मृत्युदर २१ र पाँच वर्षमुनिको बालमृत्युुदर ३९ तथा मातृ मृत्युदर २ सय ३९ (प्रतिलाख जीवित जन्ममा) मा झरेको छ भने कुल प्रजनन दर २.३ प्रतिमहिला रहेको छ ।
त्यसैगरी पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्ष्यमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।
पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बालमृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएका घरपरिवार ८० पुगेको हुनेछ ।
प्रोटोकलअनुसार कम्तीमा चार पटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।
नेपालको संविधान, २०७२ ले व्यवस्था गरेको सङ्घीय स्वरूप, भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । विशेष गरी यस लेखमा अबुर्द रोग (क्यान्सर) बारे संक्षेपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
क्यान्सर रोगको सामाधान नेपाललगायत विश्वभर एउटा ठूलो स्वास्थ्य चुनौतीका रूपमा रहेको छ । क्यान्सरको उपचार र स्याहार पाउनका लागि सबैको पहुँच पुगेको छैन् । सन् २०२२ को विश्व क्यान्सर दिवस ‘उपचारको खाडललाई बन्द गराऊँ’ भन्ने नारासाथ विश्वभर यस दिवस मनाउँदै छन् । प्रत्येक वर्ष लाखौँ मानिसको क्यान्सरको कारणले मृत्यु कम गर्दै धेरैलाई जागरण गरी उपचारका माध्यमबाट जोगाउने उद्देश्यले हरेक वर्ष फेबु्रअरी ४ मा क्यान्सर दिवस मानाइन्छ । यो रोगको कारणले तपाईं–हाम्रो आफन्त, साथीभाइ र छिमेकी, इष्टमित्र धेरै गुमाइरहेको छौँ । यो रोग मानिसका लागि एउटा दुर्भाग्य साबित भएको छ । खर्च, पीडा र यससँगको चिन्ताले हामी सबैलाई ठूलो असर पारिरहेको छ । समयमै यसबारे पहिचान हुन सकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गरी मृत्युवरणमा न्यूनीकरण गर्न सकिन्छ । क्यान्सरको उपचारका लागि विकिरण प्रयोग गरी क्यान्सर भएको ठाउँमा सेकी उपचार गरिन्छ ।
यो पद्धतिलाई केमोथेरापी भनिन्छ । हाम्रो देशका मानिसहरू स्वास्थ्य उपचारका लागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सर जोखिममा धेरै छौँ । बिरामी भएर मात्र उपचारका लागि जाने बानीलाई त्याग गर्दै समयमा नै उपचार गर्न जरुरी छ । नेपालमा स्वास्थ्य उपचार भन्नेबित्तिकै अत्यन्त झर्काेलाग्दो र खर्चिलो रूपमा हेरिन्छ । यसको नेपालभर रहेका सरकारी अस्पताल वा स्वास्थ्य संस्थाहरूमा पनि सहजै रूपमा उपचार गरी जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हँुदैन । यसका लागि स्थानीय सरकार अथवा घरदैलोको सरकारको महŒवपूर्ण भूमिका रहन्छ ।
यस रोगको नियन्त्रणका लागि मध्यमवर्गीय जनताका लागि अपेक्षा गरेअनुसार स्वास्थ्य सेवाको पहुँच र एकरूपता भएको देखिँदैन । क्यान्सर रोगको नियन्त्रणका लागि आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट सर्वसुलभ रूपमा उपलब्ध भएको छैन । अति विपन्न र जोखिममा परेका नागरिकलाई उच्च प्राथमिकतामा राख्दै सोसम्बन्धी स्वास्थ्य सेवा अभाव भएको छ । नेपाल सरकारले नाफामूलक स्वास्थ्य क्षेत्रलाई क्रमशः सेवामूलक क्षेत्रमा रूपान्तर गरी स्वास्थ्य क्षेत्रलाई मानव स्वास्थ्यप्रति जिम्मेवार बनाउनु, स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्व वहन गर्ने, सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको सन्तुलित व्यवस्था गर्नु, औषधि उत्पादनमा आत्मनिर्भर बन्नु, औषधि तथा औषधिजन्य सामग्रीको प्रभावकारी व्यवस्थापन तथा नियमन गर्नु, स्वास्थ्य सूचना प्रणालीलाई प्रभावकारी गर्नु भन्ने नेपाल सरकारको नीति तथा कार्ययोजना भए पनि पूर्ण रूपमा लागू भएको छैन ।
समग्रमा माथि उल्लेख भएजस्तै नेपाली जनताले अपेक्षा गरेअनुसारको स्वास्थ्य सेवाको विस्तारित पहुँच र एकरूपता लक्षित समूहसम्म नपुग्नु, सेवामूलक तथा जनस्वास्थ्यप्रति उत्तरदायी सेवा, जनशक्ति तथा भौतिक संरचनाको अभाव भएका संरचना तथा जनशक्ति पनि आवश्यक मात्रामा प्रयोग गर्न नसक्नु, क्यान्सरजस्तो रोगसँग सम्बन्धित जनस्वास्थ्य उत्पादन र उपयोगबीच सामञ्जस्यता हुन नसक्नु, स्वास्थ्य सेवामा सरकारी तथा निजी क्षेत्रको सहभागिता यथोचित समन्वयको अभाव आदि कारणले पनि क्यान्सर रोगको न्यूनीकरणमा असर परेको पाइन्छ । माथि उल्लेख भएजस्तै पन्ध्रौँ योजनाको सफल कार्यान्वयन पछि स्वास्थ्यको सफलतामा नै प्रश्नचिह्न खडा भएको छ ।
अतः क्यान्सर रोगको न्यूनीकरणमा तीनै तह सरकार, गैरसरकारी संस्था, लक्षित समूहको भूमिका महत्वपूर्ण हुन्छ । क्यान्सर रोग रोकथामका लागि स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्तिसहित आवश्यक साधन स्रोत हुनुपर्छ । आमनागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा उत्साहसाथ कार्य गर्ने वातावरण मिलाउन आवश्यक छ । यसो भएमा मात्र क्यान्सर रोगको न्यूनीकरण गरी लक्षित समूहको स्वास्थ्य सुरक्षा गर्न सकिनेछ । तबमात्र हरेक वर्ष फेबु्रअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसले सार्थकता पाउनेछ ।