त्रुटिपूर्ण वित्तीय विवरण, अंकको होड र निरीह लगानीकर्ता

त्रुटिपूर्ण आँकडामा विश्लेषण र लगानी निर्णय गर्न बाध्य लगानीकर्तामा बिग मर्जको नियामकीय दबाबसँगै अंकमा पहिलो र ठूलो बन्ने होडले सिर्जित जोखिमहरू थपिएका छन् ।
पुस मसान्त, लगानीकर्तालाई लाभांशको हतारो र बैंकलाई साधारणसभाकोे चटारोसँगै नियामकले त्रैमास सकिएको सात दिनभित्र विवरण प्रकाशित गर्नु भन्ने झटारोबीच २०७८-०७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भए । २६ बैंकले २०७७-०७८ को साधारणसभा सम्पन्न गरे । हतारो र चटारोमा सिभिल र नेपाल एसबीआईले पारित लाभांश समायोजन गर्न भ्याएनन् वा चाहेनन् । तैपनि नियमानुसार प्रमुख कार्यकारी अधिकृतले प्रकाशित विवरणको व्यक्तिगत जिम्मेवारी लिँदै जानेबुझेसम्म सत्य, तथ्य र पूर्ण भएको तथा लगानीकर्तालाई लगानी निर्णय लिन आवश्यक कुनै विवरण नलुकाइएको उद्घोष गरे । चुक्ता पुँजी, सञ्चित कोष, जगेडा कोषसँगै प्रतिसेयर आय (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई), नेटवर्थ गणना र तुलना अलमल्यायो र केही झुक्यायो ।
चुक्ता पुँजी तथा जगेडा कोष
प्रकाशित विवरणमा कुल चुक्ता पुँजी ३५५.६१ अर्ब देखिए पनि लाभांश समायोजनसँगै सिभिलको ९.०८ र नेपाल एसबीआई बैंकको ९.८३ अर्ब हुँदा कुल चुक्ता पुँजी करिब १४.३३ प्रतिशतले बढेर ३५६.३७ अर्ब र औसतमा रु. १३.२० अर्ब रुपैयाँ पुगेको छ । सबैभन्दा बढी ग्लोबल आईएमईको रु. २३.८० अर्ब र कममा सिभिलको ९.०८ अर्ब रुपैयाँ हुनेछ ।
लाभांशका लागि सञ्चितिसँगै प्रिमियम रकम उपयोगले ६ वटा बैंकसँग केवल ५६.६१ करोड रुपैयाँ सेयर प्रिमियम बाँकी छ । औसत ६.९६ अर्बको जगेडा कोषमा बढी नेपाल बैंकसँग १७.४७ अर्ब, नबिलसँग १४.६३ अर्ब र नेपाल इन्भेस्टमेन्टसँग १४.०९ अर्ब र कम सिभिलसँग १.५४ अर्ब रुपैयाँ मात्र छ । लाभांश समायोजनपछि सिभिल र नेपाल एसबीआईको सञ्चित तथा जगेडा कोष फरक हुनेछ ।
निक्षेप र कर्जा
विकास बैंक र वित्तीय संस्था गाभ्दै अनि निक्षेपमा ब्याज बढाउँदा पनि बैंकको निक्षेप औसतमा १५.९० प्रतिशतले मात्र बढ्दा कुल निक्षेप ४,२५०.८७ अर्ब तथा औसतमा १५७.४४ अर्ब रुपैयाँ पुगेको छ । ग्राहकबाट निक्षेपमा २९४.९४ अर्ब रुपैयाँ संकलन गरी एनआईसी एसिया पहिलो र ८०.७१ अर्बसहित नेपाल बंगलादेश अन्तिम भयो ।
सुस्त निक्षेप वृद्धि तर कर्जा २७.६६ प्रतिशतले विस्तार हुँदा बैंकमा कर्जायोग्य रकमको अभाव र कर्जा–निक्षेप (सीडी) अनुपात अनि पुँजीकोषमा दबाब देखियो । २०७९ असार मसान्तसम्म सीडी अनुपात ९० प्रतिशत कायम गर्ने नियामकीय निर्देशन हुँदा पुस मसान्तको औसत नै ९०.०७ प्रतिशत छ । ग्राहक कर्जा तथा सापटी बढेर कुल ३,९५७.६६ अर्ब रुपैयाँ तथा औसतमा १४६.५८ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । एनआईसी एसियाले २६१.९२ अर्ब कर्जा प्रवाह गर्दा नेपाल बंगलादेशले केवल ७४.९१ अर्ब रुपैयाँ कर्जा दियो ।
खुद मुनाफा, प्रतिसेयर आय र नेटवर्थ
बढ्दो प्रोभिजन, कस्ट अफ फन्ड र बेस रेट अनि खुम्चिँदो ब्याजदर अन्तर (स्प्रेड) ले उच्च कर्जा विस्तारका बाबजुद खुद मुनाफा करिब १० प्रतिशतले मात्र बढ्यो । खुद मुनाफा रकममा सबैभन्दा बढी ग्लोबल आईएमईको २.६६ अर्ब, घटी सिभिलको ५० करोड र औसत १.२७ अर्ब रुपैयाँ देखिन्छ ।
वित्तीय विश्लेषण र लगानी निर्णयको मुख्य आधार ईपीएस गणना गर्दा २४ बैंकले पारित बोनस सेयर समायोजन गर्दा सिभिलले हुने रु. ११.११ को सट्टा ११.६६ र नेपाल एसबीआईले रु. १५.९३ को सट्टा १६.४९ प्रकाशित गरे । विवरणअनुसार बैंकको औसत ईपीएस रु. १८.८५ हुँदा रु. ४१.५४ सहित एनआईसी एसिया अब्बल र करिब १ सय ५० प्रतिशतको मुनाफा बढाउँदा पनि सिभिल रु. ११.११ सहित कमजोर देखियो । हालै पुँजी समायोजित ईपीएसकै आधारमा कम्पनीको मूल्यांकन र लगानी व्यवस्थापन जोखिमपूर्ण हुन सक्छ । लगानी गर्दा कम्तीमा विगत र सम्भावित ईपीएस, औसत, शुद्धता हेर्नुपर्छ । लाभांश खोज्नेको चासो प्रतिसेयर वितरणयोग्य मुनाफा (डीपीएस), प्रकाशित विवरणअनुसार एभरेस्टसँग रु. ५२.१८ उपलब्ध हुँदा कुमारीसँग केवल रु. १.८८ छ । फरक विधिबाट प्रस्तुत डीपीएस हेरेर सम्भावित लाभांशको अनुमान गर्दै लगानी व्यवस्थापन पनि जोखिमपूर्ण हुन सक्छ ।
सेयरधनीको कुल सम्पत्ति देखाउने प्रतिसेयर नेटवर्थ औसत रु. १६१.८९ हुँदा बढी हुने नेपाल बैंकको रु. २३८.१२, राष्ट्रिय वाणिज्यको रु. २२३.६१, एभरेस्टको रु. २२०.६९ र कृषि विकासको रु. २०६.६३ र सेञ्चुरीको कम रु. १२१.१९ छ । सिभिलको रु. १२९.३९ र नेपाल एसबीआईको रु. १६९.०८ नेटवर्थ समायोजनसँगै केही घट्नेछ ।
पुँजीकोषको अवस्था
हाल बैंकले भारित जोखिम सम्पत्ति (आरडब्लूए) को आधारमा प्राथमिक पुँजीकोष न्यूनतम ८.५ प्रतिशत र समग्रमा न्यूनतम ११ प्रतिशत पुँजीकोष कायम गर्नैपर्छ । तोकिएको पुँजीकोष कायम नहुँदा लाभांश रोक्का वा शीघ्र सुधारात्मक कारबाही हुन सक्छ । २०७७-७८ मा एनआईसी एसियाको प्राथमिक पुँजीकोष ७.५१ प्रतिशत मात्र हुँदा प्रस्तावित लाभांश अस्वीकृति भयो । अत्यधिक जोखिम लिँदै नाफा कमाउन नियामकीय व्यवस्थाको उल्लंघन र लाभांश बाँड्नै नसक्ने अवस्थामा पुँजीकोष पु¥याउनु व्यवस्थापनको हदै गैरजिम्मेवारी हो । विवरणअनुसार कृषि विकासको सबैभन्दा बढी १६.३० र कम हिमालयनको ११.६१, कुमारीको ११.६९ र सेन्चुरीको ११.९४ पुँजीकोषसहित औसतमा कायम १३.३३ प्रतिशत सन्तुलित मान्नुपर्छ । सम्पत्तिको जोखिम भार र पुँजी गणनायोग्य रकमअनुसार परिवर्तनशील पुँजीकोषको जानकारी नराख्दा लगानी र लाभांश जोखिम बढ्छ ।
मूल्य आम्दानी अनुपात
कम्पनीप्रति आशावादी र त्रसित लगानीकर्ताले विद्यमान वा सम्भावित आयका आधारमा सेयरको माग र आपूर्तिलाई मूल्यमा व्यक्त गर्ने मूल्य आम्दानी अनुपात (पीई) प्रत्येक कारोबारसँगै परिवर्तन हुन्छ । त्यसैले प्रकाशित वा विगतको पीईभन्दा प्रचलित मूल्य वा आफ्नो लागतका आधारमा कति पीई हेर्नुपर्छ । पीईलाई लगानी निर्णयको मानक बनाउँदै गर्दा ईपीएसको शुद्धता, सम्बन्धित क्षेत्रको औसत पीई बुझ्न अनि कम्पनीको व्यावसायिक र मुनाफा विस्तारलाई आकलन गर्न नसके गलत निर्णयको सिकार हुने सम्भावना रहन्छ । २०७८ माघ २० को अन्तिम मूल्यमा लगानीकर्ताले सूचीकृत बैंकको सेयर औसत २१.९६, नबिलको सबैभन्दा बढी ४७.५७ र ग्लोबल आईएमई १६.२२ कम पीईमा किनबेच गरे ।
लगानी व्यवस्थापन
एनआईसी एसियाबाहेक सबै बैंकले २०७७-०७८ को वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश पारित गरे । नेपाल इन्भेस्टमेन्ट, हिमालयन र नेपाल बंगलादेशले कारोबार रोकिँदा कायम मूल्यमा अनि सिभिल र नेपाल एसबीआईले पुँजी समायोजन नगरी नै आधारभूत सूचकहरू गणना गरे । यस्ता त्रुटिपूर्ण आँकडामा विश्लेषण र लगानी निर्णय गर्न बाध्य नेपाली लगानीकर्तामा बिग मर्जको नियामकीय दबाबसँगै अंकमा पहिलो र ठूलो बन्ने होडले सिर्जित जोखिमहरू थपिएका छन् । कुन बैंक, कोसँग, कसरी गाभिन्छ ? कहिले, कसको, कतिमा कारोबार रोकिन्छ र खुल्छ ? कुन बैंकको लाभांश रोकिन्छ ? के कारबाहीमा पर्छ ? अन्योल छ ।
सार्वजनिक तथ्यांकले चुक्ता पुँजी, मुनाफा रकम, पीईमा ग्लोबल आईएमई; जगेडा कोष र नेटवर्थमा नेपाल बैंक; ग्राहक निक्षेप, कर्जा तथा सापटीसँगै ईपीएसमा एनआईसी एसिया; पुँजीकोषमा कृषि विकास राम्रा देखिन्छन् । चुक्ता पुँजी, जगेडा कोष, खुद मुनाफा, ईपीएसमा सिभिल; ग्राहक निक्षेप, कर्जा तथा सापटीमा नेपाल बंगलादेश; पुँजीकोषमा हिमालयन; वितरणयोग्य मुनाफामा सनराइज; नेटवर्थमा सेन्चुरी तथा सञ्चित मुनाफामा कुमारी नराम्रा देखिन्छन् ।
जति नै सत्य, तथ्य र पूर्ण भने पनि प्रकाशित विवरणले भविष्यको सटीक आकलनमा सघाउँदैन र लगानीमा प्रतिफल सुनिश्चित गर्दैन । उच्च ईपीएस र डीपीएसले पनि लाभांश सुनिश्चित नगर्नेमा एनआईसी उदाहरण बनेको छ । लगानी निर्णय वा व्यवस्थापन गर्दा सम्भावित मुनाफा, ईपीएस, पीई, नेटवर्थ र पुँजीकोष (प्राथमिक समेत) सँगै लाभांश प्रतिफल दर (डिभिडेन्ड यिल्ड), इक्विटीमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), निष्क्रिय कर्जा र तरलताको अवस्था, व्यवसायको वृद्धि, सुशासन अनि लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन÷व्यवस्थापन क्षमता, गाभ्दा वा गाभिँदाको सम्भावित अवस्था पनि ध्यान दिनुपर्छ । नियामकीय व्यवस्था र परिपालनामा चनाखो हुनुपर्छ ।
(लेखकै आधारमा लगानी र जोखिममा पत्रिका र लेखक भागीदार हुनेछैन ।)
