बढी मृत्यु साउदी अरबमा
१२ सय श्रमिक गुमाएर आठ खर्ब रेमिटयान्स

नेपालले वैदेशिक रोजगारीबाट वार्षिक औसत ८ खर्ब रेमिटयान्स प्राप्त गरिरहेका बेला १ हजार २ सय ४३ श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।
रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकमध्ये साउदी अरबमा गत वर्ष सबै भन्दा बढी नेपालीको मृत्यु भएको छ । श्रमिकको स्वास्थ्य सुरक्षामा सरकारले आवश्यक पहल गर्न नसक्दा गत वर्ष साउदी अरबसहित मलेसिया, कतार र युएइमा धेरै श्रमिकको मृत्यु भएको छ ।
अघिल्ला वर्षको तुलनामा साउदी अरब, युएई, कतार, कुबेत, बहराइन र ओमानमा धेरै नेपाली श्रमिकको कोरोनाका कारण मृत्यु हुँदा गत वर्ष यसको आँकडासमेत बढेको बोर्डले सार्वजानिक गरेको गत आवको प्रगति प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार साउदी अरबमा ३ सय ६२, मलेसिया २ सय ८०, कतार २ सय ३९, युएईमा २ सय ८, कुबेतमा ५५ र बाँकी अन्य देशमा मृत्यु भएको छ । गत आवमा बोर्डबाट प्रदान गरिएका आर्थिक सहायताअन्र्तगत सम्बन्धित श्रम गन्तव्यस्थित नेपाली दूतावासका अनुसार ३४ प्रतिशत अर्थात ४ सय २७ नेपालीको मृत्यु रोगका कारण भएको उल्लेख छ । यसैगरी २३ प्रतिशत अर्थात २ सय ८६ श्रमिकको मृत्युको कारण खुलेको छैन । यसरी नै १४ प्रतिशत अर्थात १ सय ७१ श्रमिकको मृत्यु प्राकृतिक कारण भएको उल्लेख छ । सडक दुर्घटनामा १ सय २० र हृदयघातका कारण भएको थियो ।
कतारलगायत अन्य खाडी देशमा रोजगारीका सिलसिलामा असुरक्षित कार्य वातारणका कारण अकाल मृत्यु भएका हजारौं विदेशी श्रमिकका बारेमा छानबिन नभएकोमा मानव अधिकारवादी संघसंस्थाहरुले समेत आपत्ति जनाउँदै आएका छन् । खाडीमा रोग नै नभएका श्रमिक गर्मीमा अधिक काम गर्दा एक दशकमा हजारौं आप्रवासी श्रमिकको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको एम्नेस्टी इन्टरनेसनले केही समय अघि सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । कतारमा मृत्यु भएका १५ हजार विदेशीमध्ये नेपालीको संख्या १५ हजार रहेको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा उल्लेख छ । कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू प्राकृतिक कारण वा हृदय घातको कारणले भएको जनाउँदै मृत्यु प्रमाणपत्र जारी गरिएको आरोप लगाइएको छ । एम्नेस्टीको नयाँ प्रतिवेदन ‘इन द प्राइम अफ दियर लाइभ्स’ ले प्रस्तुत गरेको प्रतिवेदनमा शारीरिक रूपमा धेरै श्रम गर्नुपर्ने र तापक्रमका कारण श्रमिकको मृत्यु भएको उल्लेख छ ।
हालै कतारले श्रमिकका लागि केही नयाँ सुरक्षा नियम लागू गरेपनि बिना कारण मृत्यु हुने मुख्य जोखिम अझै विद्यमान रहेको जनाइएको छ । एम्नेस्टीले गर्मीसँग सम्बन्धित मृत्युको अनुसन्धान गर्न कतारले खासै प्रयास नगरेका कारण हजारौं मृत्यु पनि परिवारले न्याय नपाएको उल्लेख छ । प्रमुख चिकित्सा विशेषज्ञहरूसँग परामर्श र हजारौंको मृत्यु सम्बन्धी सरकारी तथ्यांकको पुनरावलोकन गर्दै एम्नेस्टीले १८ वटा मृत्यु प्रमाणपत्रको विश्लेषण गरेर ३० देखि ४० वर्ष उमेरको बीचमा मृत्यु भएका ६ जना पुरुष श्रमिकको परिवारको गुनासोका बारेमा उल्लेख गरेको छ ।
“अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गरेको छ” प्रतिवेलनमा भनिएको छ, “आप्रवासी श्रमिकहरूको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्वपूर्ण संकेतलाई बेवास्ता गरिरहेका छन्, जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ ।” एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले श्रमिकको बाँच्न पाउने अधिकारको उल्लंघन भएकाले पीडित परिवारहरूको कानूनी उपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेको अवस्था रहेको बताए । एम्नेस्टीले सार्वजानिक गरेको प्रतिवेदनमा कतारमा विदेशी श्रमिकको मृत्युका कारण नखुलाइएको को संख्या ७० प्रतिशत हुन सक्ने पाइएको छ ।
एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रमध्ये १५ वटा मृत्युको मुख्य कारण नखुलाएको उल्लेख छ । कतारमा मृत्यु भएकामध्ये कारण नखुलाएकामा प्राकृतिक कारण कारणले गर्दा श्वासप्रश्वास सम्बन्धी विफलता भनेर उल्लेख गरिएको छ ।