Logo

सिद्धलेकका नागरिकको अपेक्षा पूरा गर्छौं

प्रेमनाथ सिलवाल, अध्यक्ष, सिद्धलेक गाउँपालिका

प्रदेश – बागमती
जिल्ला – धादिङ
स्थानीय तह- सिद्धलेक गाउँपालिका
वडा संख्या – ७
उपाध्यक्ष – कमला शर्मा
प्रमुख प्रशासकीय अधिकृत – नन्दलाल शर्मा
कार्यालय – बुङचुङ
क्षेत्रफल – १०६.९ वर्गमिटर
जनसंख्या – २२ हजार २ सय १२ (जनगणना २०७८)
आव २०७८-०७९ को बजेट – ६४ करोड २६ लाख ३१ हजार ८ सय ५२ रुपैयाँ
आन्तरिक स्रोत – ३ करोड ९ लाख ५० हजार रुपैयाँ

२०७३ साल फागुन २७ गतेको निर्णयबाट साबिकको सलाङ, नलाङ र कुम्पुर गाउँ विकास समितिलाई गाभेर सिद्धलेक गाउँपालिका गठन गरिएको हो । मुलुक संघीय संरचनामा गएपछि भएको पहिलो पटकको स्थानीय तहको निर्वाचन २०७४ जेठमा सम्पन्न भएपश्चात् निर्वाचित भएर आएपछि जनताको अपेक्षा पूरा गर्ने प्रशस्त कार्यको थालनी गरेका छौं । जुन कार्यबाट गाउँगाउँमा सिंहदरबारको नारालाई नागरिकस्तरबाट सत्य साबित वा प्रमाणित गराउनु नै हाम्रो परम् कर्तव्य हो । सोहीअनुसार जनताको स्थानीय सरकारप्रतिको अपेक्षालाई विश्वासमा परिणत गराउन सबै कार्यपालिका सदस्य र वडा सदस्यहरू दत्तचित्त भएर लागेका छौं । जनविश्वास प्राप्त गरेका छांै ।
चुनावी महाअभियानमा घोषणापत्रमार्फत मतदातासमक्ष प्रतिबद्धता गरेका कुरालाई कार्यान्वयन गरी नागरिकलाई आधारभूत सेवासुविधा प्रदान गर्न कार्यपालिका टिम एकमत भएर लागेका छौं । जनप्रतिनिधिभन्दा साढे दुई महिना जेठो गाउँपालिकामा तत्कालीन अवस्था कार्यकारी अधिकृतका साथ दुई–तीन जना कर्मचारीबाट काम सुरु गरेका थियौं । अझैसम्म कर्मचारी पर्याप्त छैनन् । तर पनि हामीले जनताको सेवा मात्र होइन, देखिने र महसुस गर्ने गरी विकास विकास गरेका छौं ।
मेरो नेतृत्वमा रहेको टिमले सिद्धलेक गाउँपालिकाको गुरुयोजना निर्माण गरेको छ । भिलेज प्रोफाइल बनाएका छौं । गाउँपालिकाले गरेको सर्भेमा ६ हजार २ सय १२ परिवार रहेकोमा अहिले ३५ सय परिवारमा एक घर एक धारो कार्यक्रममार्फत स्वच्छ पिउने पानीको व्यवस्था मिलाएका छौं । खानेपानीको मुहान नभएका गाउँबस्तीमा १० वटा डिप बोरिङमार्फत पानी निकालेर वितरण गरेका छौं । चालू आर्थिक वर्षमा १ हजार धारा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । सातवटै वडाका बस्तीस्तरमा सडक पु-याएका छौं । करिब डेढ सय किलोमिटर सडकको नयाँ ट्र्याक खोलेका छौं, जहाँ हिउँदका समयमा गाडी गुड्छ । करिव १ सय किलोमिटर सडकको स्तरोन्नति गरेका छौं, जहाँ हिउँद–बर्खा नै सडक चल्छ । बैरेनी–ठाँटी–कमलावारी सडक एक किलोमिटर, बुङचुङ मैदान सडक डेढ किलोमिटर र परेवाटार–कुम्पुर सडक १ किलोमिटर कालोपत्रे तथा ढलान गरेका छौं ।
यसैगरी करिब २ हजार परिवारमा विद्युत् जडान गरेका छौं । अहिले विद्युत् नपुगेको घर छैन । राष्ट्रिय प्रसारण लाइन विस्तार गर्दा पहिले काठका पोल रहेकाले यस वर्षबाट काठका पोल विस्थापन गर्न संघीय सरकारको ४० लाख र गाउँपालिकाको ७२ लाख गरी १ करोड १२ लाखको विद्युत् प्राधिकरण कार्यालय धादिङबाट टेन्डर भइसकेको छ । अब यस वर्ष काठको पोलमुक्त पालिका पनि बन्छ । स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गरेका छौं । तीनवटा स्वास्थ्यचौकीको पक्की आवश्यकता पूरा हुने गरी भवन निर्माण भइरहेको छ । चारवटा आधारभूत स्वास्थ्य केन्द्र स्थापन गरी आफ्नै भवनबाट सेवा प्रवाह गरेका छौं । स्वास्थ्य एकाइ एक, सामुदायिक स्वास्थ्य बिन्दु चारवटाबाट पनि सेवा प्रवाह गरिरहेका छौं । नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेदिक उपचार सेवा प्रवाह गरिरहेका छौं ।
गाउँपालिकाभित्र ३४ वटा आधारभूत विद्यालय र १३ वटा माध्यमिक विद्यालय सञ्चालित छन् । ती सबै विद्यालयको पक्की भवन निर्माण सकिने चरणमा रहेका छन् । अधिकांश विद्यालयको भवन निर्माण पूरा भएको छ । कृषि तथा पशुपालन पनि उल्लेखनीय काम गरेका छौं । तर पनि किसानलाई व्यावसायिक बनाउन अझ लगानी गर्नुपर्नेछ । किसानहरूलाई कृषि औजारमा बढी लगानी गरेका छौं । करिब ५ सय मिलिलिटर वितरण गरेका छौं । साथै अन्य औजारहरू पनि वितरण भइरहेको छ । पशुपालनमा पनि व्यावसायिक बनाउन प्रोत्साहन गरिरहेका छौं । गाउँपालिकाभरिमा ४५ हजार बाख्रा छन् । किसानले वार्षिक १२ हजारभन्दा बढी खसी बिक्री गर्छन् । भैंसीपालनलाई पनि व्यावसायिक बनाउन सुरु गरेका छौं । गाउँपालिकाभित्र करिब ३० करोडको तरकारी बिक्री गर्दै आएका छन् ।
माथि उल्लिखित काम गर्न आवश्यक ऐन, नियमावली, कार्यविधिहरू ६९ वटा बनाइसकेका छौं । केही ऐन, नियमावली, कार्यविधि बनाउने क्रममा छौं । न्यायिक समितिले करिब एकको हाराहारीमा न्यायिक निरूपण गरिसकेको छ । गाउँपालिकाका आवश्यक पर्ने कार्यालय पक्की र अस्थायी किसिमका भवनहरू बनाएका छौं । सबै वडा कार्यालयहरू आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । वडा नं. २, ३ र ५ मा पक्की भवन निर्माण गरिसकेका छौं । बाँकी चारवटा वडामा पनि क्रमशः बनाउँदै जाने योजना रहेको छ । गाउँपालिकाको आन्तरिक स्रोत कम भएका कारण गर्न खोजेजति काम गर्न सिकएको छैन । तर पनि संघीयताको मर्मलाई कमी हुन नदिई काम गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्