हाम्रो पात्रो एप टेलीहेल्थ सेवाबाट पाँच सयभन्दा बढी कल

हाम्रो पात्रो एपले ल्याएको टेलीहेल्थ सेवामा तीन महिनामा पाँच सयभन्दा बढी कलहरू सम्पन्न भएको छ ।
तीन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्तामाझ लिएर आएको हाम्रो पात्रो मा ५० भन्दा धेरै विशेषज्ञ डाक्टर उपलब्ध रहेको कम्पनीले जनाएको छ । आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताले छोटो समयमै यो सुविधालाई माया दिएको कम्पनीको भनाइ छ ।
यसरी पाँच सय कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ भने भक्तपुर, काठमाडौं र पोखराबाट धेरै कल आएको कम्पनीले जनाएको छ ।
सो अवसरमा हाम्रो पात्रो, इंक. का सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारलाई धन्यवाद व्यक्त गरेका छन् । स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुरामा सीमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसलाई यो अत्यधिक उपयोगी भएको कम्पनीको भनाइ छ ।
टेलीहेल्थ सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको जनाएको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट दुई सय रुपैयाँमा विज्ञ डाक्टरसँग परामर्श लिन सक्ने छन् ।