जलविद्युत सुरक्षाका लागि ११ बुँदे सुझाव
सोलु दूधकोसीमा पाइप चुहिएको घटनालाई बेवास्ता गर्दा दुर्घटना

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित छानबिन समितिले ८६ मेगावाटको सोलु खोला दूधकोसी जलविद्युत आयोजनामा भएको दुर्घटनाका कारण पाइप चुहिएको घटनालाई बेवास्ता गर्नु रहेको निष्कर्ष निकालेको छ ।
१ महिना १० दिनअघि अर्थात् ११ पुसमा दूधकोसी जलविद्युतको पाइप परीक्षणको क्रममा दुई जनाको मृत्यु र एक जना घाइते भएपछि ऊर्जा मन्त्रालयले सह–सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले स्थलगत अध्ययनपछि सो प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाएको छ ।
फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किदा इन्जिनियरद्वय अछामका २६ वर्षका सुवाषराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको मृत्यु भएको थियो । यसरी जलविद्युत आयोजनामा पाइप परीक्षणको क्रममा पानी चुहिएर दुर्घटना भई मृत्यु भएको भने पहिलोपटक हो ।
समितिले परीक्षणको क्रममा पाइपको चाप बढाउँद जाँदा प्रेस गजमा करिब ७७ केजी÷सीएम स्वाक्यर देखाउँदा मुख बन्द गर्नका लागि प्रयोग गएिको करिब ५ टन तौलको फलामको डोम र पाइपको जडान बीचबाट पानी चुहिएपछि केही समय रोके पनि चाप आवश्यक पर्ने ८०.६१ नजिक पुगेको भन्दै पुनः परीक्षण गरेपछि दुर्घटना भएको जनाएको छ । पाइपबाट पानी चुहिएपछि यसलाई रोक्नुपर्नेमा पुनः परीक्षण सुरु गरेपछि घटना भएको देखिएको र पानी चुहिएपछिको अवस्थालाई बेवास्ता गर्दा दुर्घटना भएको संयोजक चटौतले जानकारी दिए ।
समितिले जलविद्युत आयोजनाको काम सुरक्षित अघि बढाउनमा आयोजनाको कमजोरी रहेको भन्दै समितिले सबै जलविद्युत आयोजनालाई सुरक्षित बनाउन ११ बुँदे सुझाव दिएको छ ।
हरेक कर्मचारीलाई व्यक्तिगत एवं पेशागत स्वास्थ्य तथा सुरक्षासम्बन्धी तालिम प्रदान गर्नुपर्ने, कुनै परीक्षणको अनुगमन तथा निरीक्षण डिजिटल प्रविधिमार्फत गरिने व्यवस्था गर्ने र परीक्षणको समयमा भौतिक उपस्थिति नगरी रिमोट कन्ट्रोलन र मोनिटरिङ सिष्टम प्रयोग गर्नुपर्ने, परीक्षणस्थल सफल र खुला राख्ने, साइरनको व्यवस्थ गर्ने एवं तारबार गरी सुरक्षित गर्ने, परीक्षणस्थल वरपर आवश्यकबाहेक अन्य हेभी इक्युपमेन्टहरू राख्न नहुने, परीक्षणसँग सम्बन्धित प्रचलित निर्देशिका पलना गर्नुपर्ने र परीक्षणमा कुनै हेलचक्राई तथा लापरबाही गर्न नहुने राय सुझाव दिएको छ ।
परीक्षणपूर्व र परीक्षणको समयमा चनाखो रही आवश्यक प्रक्रिया अनुसरण गर्नुपर्ने, परीक्षणको क्रममा अनिवार्य व्यक्तिगत सुरक्षा साधन (पीपीई) प्रयोगको व्यवस्था गर्नुपर्ने, परीक्षण चालू रहेको जानकारी आसपासका क्षेत्रमा दिनुपर्ने, परीक्षणमा आवश्यक जनशक्ति मात्र बस्ने र आधिकारिक व्यक्तिबाहेकलाई परीक्षणमा संलग्न नगराउने, सम्भावित घटनाबारे कामदालाई सुचित गर्ने, विद्युत आयोजनासँग सम्बन्धित व्यक्तिगत र पेशागात सुरक्षासम्बन्धी निर्देशिका र निर्माण उपकरणको परीक्षण र सुरक्षासम्बन्धी निर्देशिका तयार गरी लागू गर्नुपर्ने तथा नियमनकारी निकायले नियमित प्रभावकारी अनुगमन गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ ।