Logo

पाँचथर जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा आएको छ ।
अघिल्लो आर्थिक वर्षदेखि प्लान्ट राख्नका लागि काम अघि बढेको थियो । १ नम्बर प्रदेश सरकारको बजेटमा प्लान्ट निर्माण गरिएको हो । बिहीबारबाट नै अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोनको दोस्रो लहर चल्दा अक्सिनको हाहाकार हुँदा बिरामीलाई समस्या भएको थियो । विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डर भेला गरेर भर्न पठाउनु पर्ने बाध्यता थियो । एकैपल्ट ३५ वटा बेडमा अक्सिन आपूर्ति गर्न सक्ने तथा एक दिनमा ३० सिलिण्डरसम्म अक्सिजनमा भर्ने गरी प्लान्ट सञ्चालनमा आएको छ । ९७ लाख २८ हजार खर्चिएर गरी प्लान्ट सञ्चालनमा आएको हो । यस अघि जिल्लामा आवश्यक अक्सिजन भर्नका लागि झापामा सिलिण्डर पठाउनु पर्ने बाध्यता थियो ।
हाललाई यो प्लान्टबाट सिलिण्डरमा अक्सिजन भर्ने काममात्र हुनेछ । बेडमा अक्सिजन आपूर्ति हुने पाइपलाई निर्माणाधीन अस्पतालको भवनमा जोडिएको छ । तर यो भवन निर्माण सम्पन्न गर्न केही समय लाग्ने देखिन्छ । अस्पतालको भवन निर्माणको काममा ढिलाइ भइरहेको छ । चैतसम्मलाई ठेकेदार कम्पनीको म्याद तेस्रो पल्ट थपिएको छ ।
यस अस्प्तलामा पाँचथर, तेह्थुमको आठराई क्षेत्र र ताप्लेजुङका विभिन्न गाउँबाट बिरामी उपचार गर्न आउँछन् । एकैपल्ट तीनवटा सिलिण्डर भर्न सकिने र एउटा सिलिण्डर भर्नलाई ४० मिनेट लाग्ने बताइएको छ । जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सुविधा थपिएको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. बुद्धिबहादुर थापाले बताए । “बाहिर भर्न लैजाँदा धेरै खर्च हुने गरेको थियो । बेडमै अक्सिजन पुगेपछि थप सुविधा हुन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्