स्थानीय चुनावमा एमालेले कसैसँग गठबन्धन गर्दैन : रायमाझी

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार आयोजित एक साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउन षड्यन्त्र भैराखेको आरोप समेत लगाए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।’
रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने पनि स्पष्ट पारेका छन् । नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए । उनले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत रुपमा चल्नुभएन ।’ रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए । यद्यपि, आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो ।
उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गरे । उनले भने, ‘एमाले यतिबेला परमादेशको कारण प्रतिपक्षमा छ । एमालेविरोधीहरुले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । उनीहरु अब पराजित मानसिकतामा छन् । एमालेले जित्छ त्यसैले गठबन्धन गर्नुपर्छ भनेर उनीहरुले भनेका छन् । उनीहरुलाई जनताको समर्थन छैन । यो गठबन्धन लोभी-पापीहरुको झुण्ड हो ।’
उनले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बुहमत र शानदार विजयी हासिल गर्ने दाबी गरे । रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुंगो लगाओस् । संसद्मा टेबुल भएपछि हामी सोच्छौं। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन ।’