Logo

जनवरीमा १७ हजार पर्यटक भित्रिए

अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्ग हुँदै १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यो महिना भारतबाट सबैभन्दा बढी ३ हजार ९१६ पर्यटक नेपाल आएका छन् । त्यसैगरी बंगलादेशबाट १२ सय ३६, चीनबाट ३२१, दक्षिण कोरियाबाट २०९, फ्रान्सबाट २८३, जर्मनीबाट ३६५ र बेलायतबाट १८ सय २४ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ ।
बोर्डका अनुसार अस्ट्रेलियाबाट १२ सय १३, अमेरिकाबाट ३२ सय ५७ र क्यानाबाट ३६१ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका छन् । यस वर्षको जनवरीमा आएको पर्यटक संख्या गत वर्षको जनवरीभन्दा ९१.३ प्रतिशत बढी हो । गत वर्षको जनवरीमा ८ हजार ८७४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए ।


प्राधिकरणको महानिर्देशकमा अधिकारी
सरकारले हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा इन्जिनियर प्रदीप अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका ११ औं तहका अधिकारीलाई आगामी ४ वर्षको लागि महानिर्देशकमा नियुक्त गरेको हो ।
२५ पुसबाट तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीले अनिवार्य अवकास पाएपछि सो पद रिक्त थियो भने निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई तोकिएको थियो ।
महानिर्देशक अधिकारीले बिहीबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अधिकारीले प्राधिकरणका सबै सहकर्मीको सहकार्यमा नेपालको हवाई सुरक्षा, आन्तरिक विमानस्थलको सुधार गर्दै निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थललाई चाँडै सञ्चालनमा ल्याउने बताए । यसअघि प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवका आयोजना प्रमुख भएर काम गरिसकेका अधिकारीले प्राधिकरणमा सिभिल इन्जिनियरिङबाट सेवा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्