Logo

करसोङ पदमार्गमा पर्यटकको चलहपहल बढ्यो

इलाम-पूर्वी पहाडी जिल्लामा पर्ने अनी तराईसँग सबैभन्दा छोटो दूरीको पदमार्ग हो करसोङ पदमार्ग ।
इलामको रोङ गाउँपालिकामा रहेको करसोेङ पदमार्ग पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । गाउँपालिकाले पर्यटक भित्र्याउन पहल गरेसँगै सो क्षेत्रमा पर्यटक आउन थालेका हुन् । यसै वर्ष मात्र पदमार्ग सरसफाई र चौडाइ बढाउने काम भएको छ । रोङ गाउँपालिकाको हाँस पोखरीबाट रम्भ्याङ हुँदै झापाको बाहुनडाँगीसम्मको पदमार्ग भारतका पर्यटकका लागिसमेत लक्षित गरेर काम अगाडी बढाइएको हो ।
मेची राजमार्ग अन्तरगत रोङ–३ कोल्बुङस्थित हाँसपोखरी क्षेत्रबाट सुरू भएको पदयात्रा ‘गुगल पोइन्ट’ (भूमापन केन्द्र), गिद्धेडाँडा गुर्धुमडाँडा, चिण्डे हुँदै झण्डीडाँडाबाट सलकपुर हँुदै झापाको बाहुनडाँगी पुग्न २९ किलोमिटर दुरी पार गर्नुपर्छ । गाउँपालिका, वडा कार्यालय र स्थानीयको सहयोगमा पहिलो चरणमा १६ किलोमिटर पदमार्गको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।
पदमार्गको तल्लो भागबाट रम्भ्याङलाई कच्ची मोटरबाटोसँग जोडिएको छ । यो स्थान झापाको बाहुनडागीबाट १७ किलोमिटर दूरी पार गरेपछि झण्डीडाँडामा पुग्न सकिन्छ । झण्डी डाँडा झुल्केघाम र अस्ताउने बेलाको घाम हेर्नका लागि तराइसँगको कम दूरीमा पर्ने उत्कृष्ट गन्तव्य हो । झण्डीडाँडा आसपासमा पर्यटन आगमन हुन थालेसँगै बासस्थानका लागि होमस्टे निर्माणको प्रक्रिया अघि बढेको छ । हाल एउटा मात्र होमस्टे रहेको सो स्थानमा ६ वटा होमस्टे (घरबास कार्यक्रम) तत्काल सम्पन्न गर्ने लक्ष राखिएको छ ।
लाप्चा जातिको बाहुल्यता रहेको उक्त पदमागको नाम करसोङ पदमार्ग राखिएको छ । करसोङको नेपालीमा सुनाखरी भन्ने अर्थ लाग्ने भएकाले यसको नाम पनि लाप्चा भाषाबाटै नामाकरण गरिएको रोङ गाउँपालिका ६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मनिकुमार स्याङ्वो (सुवास) ले बताए । उनले भने लाप्चा भाषामा करसोङको अर्थ सुनाखरी भन्ने बुझिन्छ, त्यहि भएर यसको नाम पनि करसोङ राखिएको हो ।
हाँसपोखरीदेखि सुरु भएको सो पदमार्गका अधिकांश क्षेत्रमा सुनाखरी पाइने भएका कारण लाप्चा जातिको सम्मान र अपनत्वका लागि पनि करसोङ नामाकरण गरिएको बताइएको छ ।
पर्यटक आउन थाले पनि हालसम्म सो क्षेत्रमा ठूला होटल भने खुलेका छैनन् । हाल सो क्षेत्रमा घरबासको व्यवस्थापन थालिएको रोङ गाउँपालिका–६ का वडा सदस्य तथा स्थानीय केशरबहादुर प्रधानले बताए । उनका अनुसार अब पर्यटकको संख्या बढ्न थालेसँगै यहाँ होमस्टेको योजना अगाडी बढाइएको छ ।
तराईको भूभागबाट सबैभन्दा नजिकको दूरीमा रहेको पदमार्गका भारत तथा बंगलादेशबाट आउने पदयात्रीका लागि पनि उत्तिकै सहज छ । लाप्चा जातिको भाषा संस्कृति, भेषभूषासँग जोडेर विकास गर्नुपर्नेमा सो क्षेत्रमा जाने पर्यटकसँग नजिक रहेकाहरुको बुझाइ छ । यो करसोङ पदमार्ग साइक्लिङका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ । यहाँ धेरै साइकल यात्रीसमेत आउने थालेका छन् । पदमार्गका केही केही भागमा मात्र साइकललाई असहज भएपनि प्राय सबै क्षेत्रमा साइकल चलाउन सकिने वडाध्यक्ष स्याङ्बोको भनाइ छ ।
पदमार्गको काम २२ कात्तिक २०७७ बाट सुरु गरिएको बताइएको छ । गएको लकडाउनमा प्राय बसाई समेत सोहि पदमार्गमा भएको वडाध्यक्ष तथा पालिकाका प्रवक्ता स्याङ्बोले बताए । हालसम्म जनप्रतिनिधि र स्थानीयबासीको सहभागितामा १ हजार १ सय ४० जनाले श्रम गरेर पदयात्राका लागि कच्ची बाटो निर्माण भएको छ । पदयात्रीका लागि ठाउँठाउमा घुमाउने चौतारी र बस्नका लागि स्थानीय स्रोत साधन प्रयोग गरेर चौतारीसमेत बनाइएको छ ।
मनोरम प्राकृतिक वातावरणसँग रम्दै झण्डीडाँडा पुगेपछि सूर्योदय र सूर्यास्तको मनोरम दृश्यहरुले जो कोही पर्यटकको मन खिच्ने गरेको छ । पदमार्गका केही भागबाट नेपालका हिमाल, पहाड र तराईका विभिन्न भू–भागको अतिरिक्त भारत, भूटान र बंगलादेशसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।
पदमार्गका हाँसपोखरी, गुगलडाँडा, गुर्धुमडाँडा, झण्डीडाँडा, हल्लने ढुंगा, रमिते, गिद्वेभिर, चिण्डेपानी लगायत १५ ठाउँलाई मुख्य विन्दु (इन्डिकेटर) बनाइएको छ । पदमार्गभित्र हाँसपोखरी, मझुवा, लामागाउँ, रम्भ्याङ, सलकपुर र पाटापुरमा होमस्टे निर्माणको योजनाअनुसार साझेदार संस्थासंग हातेमालो अघि बढेको प्रवक्ता स्याङ्वोको भनाइ छ । हाल सो क्षेमा होमस्टे निर्माणका लागि कारितास नेपालसँग सहकार्य भइरहेको छ ।
जस्केलो होमस्टेका नामबाट होमस्टे निर्माण र व्यवस्थापनका लागि तीन वर्षसम्म कारितास नेपालसँग सहकार्यका लागि सम्झौता भएको उनले बताए ।
गत आर्थिक वर्षमा रोङ गाउँपालिका, संघीय सरकार र प्रधानमन्त्री रोजगार कार्यत्रममार्फत समान १५÷१५ लाखको बजेटमा काम गरिएको थियो । गतवर्षको लकडाउनमा सो कार्य अगाडी बढाइएको थियो । यस पदमार्गमा हाल पछिल्लो समय पर्यटकहरुको चहलपहल बढेको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकार, स्थानीय तह र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक करोड २० लाख लगानीमा पदमार्गलाई व्यवस्थित बनाइने योजना छ । पदमार्गमा फलफूल रोपेपछि गाउँ पसेर दुःख दिने जंगली जनावर नियन्त्रणमा सहज हुनुका साथै पदयात्रीले पनि नयाँ फलफूलको स्वाद लिँदै यात्रामा रमाउन पाउने र पर्यटकको संख्यामा वृद्धि हुने आशा लिइएको गाउँपालिकाका अध्यक्ष शमशेर राइको भनाइ छ । सो क्षेत्रमा सुन्तला र एभोकाडो फल राम्रोसँग फल्ने गरेको छ ।
सलकपुरको सुन्तलाको चर्चा नेपाली बजारमा मात्रै होइन भारतको कोलकत्ता र बंगालादेशमा पनि उत्तिकै छ । सुन्तला उत्पादनमा राम्रो भएकै कारण ‘गोल्डन भ्याली’ को उपनामले समेत चिनिने गरेको छ सलकपुरलाई । सोहि सलकपुर नजिकै रहेको झण्डीडाँडा घाम हेर्न र अस्ताएको घाम हेर्न आउनेको समेत संख्या उत्तिकै छ ।
पदमार्ग अध्ययन अवलोकन भ्रमण गर्नेहरुका लागि पनि उत्तिकै राम्रो गन्तब्य मानिन्छ । सो क्षेत्रमा मात्रै ४१ प्रजातिका अर्किड पाइन्छ । तीमध्ये २५ प्रजाति रुखमा, १३ प्रजाति जमिनमा र तीनवटा प्रजाति रुख र जमिन दुवैमा पाइने गरेको बताइएको छ । संसारको अरू देशमा नपाइने १४ प्रजातिका अर्किड नेपालमा मात्रै पाइन्छ । त्यसमध्ये केही प्रजातिका अर्किड हाँसपोखरी क्षेत्रमा मात्रै पाइने अध्यनले पुष्टि गरेको छ ।
प्याराग्लाइडिङको परीक्षण उडान सफल
पर्यटकीय स्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ । इलामको रोङ गाउँपालिका ६ स्थित करसोङ पदमार्ग गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल .भएको हो ।
सो पर्यटकीय स्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पयटन व्यवसायी उत्साहित भएका छन् । तराईसँग नजिक रहेको करसोङ पदमार्गमा प्याराग्लाइडिङको आनन्द लिन पाउने भएपछि विशेषगरि वडामा पर्यटक भित्रिने भन्दै यसले थप हौसला थपेको रोङ गाउँपालिका– ६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोले बताए । उनले पदमार्गमा पर्यटकको संख्या बृद्धि हुन सुरु हुँदै नयाँ आनन्द लिन पर्यटकले पाउने भएपछि उत्साह थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्