बेलायतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।
बेलायतसंँग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा बढी भएपनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । बेलायतसँग वार्षिक २ अर्बको हाराहारीमा मात्रै व्यापार भइरहेको भन्दै अध्यक्ष मल्लले जडीबुटी, खानीजन्य वस्तुहरु, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसँग सहकार्य गर्न सकिने धारणा राखे ।
नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्लो १० वर्षदेखि व्यावसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेकोप्रति अध्यक्ष मल्लले राजदूत आचार्यको ध्यानाकर्षण गराए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले हस्तकलाका सामान, पस्मिना, गार्मेन्ट्स, उलन लगायतका गरि गत वर्ष २ अर्ब ३ करोड रुपैयाँको व्यापार गरेको थियो । बेलायतबाट भने सवारी साधन, केमिकल्स, मदिरा लगायत २ अर्व २६ करोड रुपैयाँको आयत गरेको छ ।
पूर्वाधार, जलश्रोत, होटल, पर्यटन क्षेत्रमा लगानीको पहल गर्नका लागि पनि आचार्यलाई उनले आग्रह गरे । सुन चाँदीको तयारी गरगहना, जिन्सको पाइन्टलगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना मल्लको भनाइ छ ।
नवनियुक्त राजदूत आचार्यसँग चेम्बर पदाधिकारीले बे्रक्जिटबाट अलग भएपछि बेलायतसँग छुट्टै व्यापारिक सम्झौता आवश्यक रहेकोमा जोड दिएका थिए । बेलायतस्थित नेपाली दूतावासमा वर्षमा कम्तिमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले राजदूत आचार्यसँग आग्रह गरे ।
राजदूत आचार्यले ब्रेक्जिटपछि बेलायतसँग छुट्टै व्यापारिक सम्बन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताए । बेलायतसँगको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्धलाई उच्चस्तरीय आर्थिक सम्बन्धमा परिणात गर्नका लागि आफूले सक्दो पहल गर्ने आचार्यको भनाइ छ । आफ्नो कार्यकालको शुरुमै दुई देशका व्यापारी बीचको मिलन गराउने तथा व्यवसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासनसमेत उनले दिए ।
बेलायतले पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान जारी राखेको तथा ठूलो रकम त्यसैमा खर्च गरिरहेकाले नेपालले पनि यसबाट लाभ लिने सम्भावना रहेको उनको भनाइ छ । नेपाल विकाशसील राष्ट्रमा गएपनि भूपरिवेष्ठित देशको हैसियतमा पाउने व्यापार सुविधाका लागि आफूले पहल गर्ने आचार्यको भनाइ छ ।