तातोपानी भन्सारद्वारा लक्ष्य भन्दा दोब्बर राजस्व संकलन

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ६७ करोड ८५ लाख ६१ हजार चार सय ७१ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो लक्ष्यको दोब्बर अथवा दुई सय ७० प्रतिशतले बढी हो । सो अवधिमा कार्यालयले ६२ करोड १५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले सबैभन्दा बढी राजस्व रकम जम्मा गर्दे कात्तिक महिनाबाट ३९ करोड ७१ लाख चार हजार दुई सय ४३ रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ३२१.९८ प्रतिशतले बढी हो । सो अवधिमा कार्यालयले १२ करोड ३३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यसैगरी कार्यालयले साउन, भदौ र असोजमा क्रमशः ८ करोड ६६ लाख ५३ हजार, ११ करोड ९३ लाख ६७ हजार र ११ करोड ६६ लाख ८४ हजार रुपैयाँ लक्ष्य लिएकोमा सात करोड २१ लाख ८४ हजार तीन सय ९२ र १२ करोड ८१ लाख सात हजार आठ सय १८ र ३२ करोड सात लाख ७८ हजार एक सय आठ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसरी तीन महिनाको कार्यालयले राजस्व संकलन गरेको विवरण अनुसारसाउन महिनामा लक्ष्यको ३.२६, भदौमा १०७.३२ र असोज महिनामा २७४.९१ प्रतिशत को दरले राजस्व जम्मा गरेको छ ।
यस्तै मंसिर महिनामा कार्यालयले १२ करोड ९९ लाख ८७ हजार लक्ष्य लिएकोमा दुई सय ८४.४२ प्रतिशत यानिकि ३६ करोड ९७ लाख १२ हजार ९ सय छ रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस्तै पुस महिनामा १३ करोड २१ लाख ६६ हजार रुपैयाँ लक्ष्य लिएको कार्यालयले सो को २९५.६२ प्रतिशत अर्थात ३९ करोड सात लाख दश हजार चार रुपैयाँ संकलन गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।