स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको गुनासो

लमजुङमा सामाजिक न्यायमा आधारित स्वास्थ्य बिमाकार्यक्रम सुरू भएको एक वर्षको अवधीमा १२ हजार पाँच सय जनाले मात्रै बिमा गरेका छन् । नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु-याउने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेपनि अपेक्षित लाभ लिन नसकेको पाइएको हो । जिल्लाका ७५ वटै वडामार्फत जनशक्ति परिचालन गरी स्वास्थ्य बिमा अभियान सुरू गरेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको हो ।
जिल्लाको तथ्यांकअनुसार हालसम्म १२ हजार चारसय ५३ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा कार्यक्रम फोकल पर्सन अनुपमा रेग्मीका अनुसार जिल्लामा साधरणतर्फ एक हजार नौ सय ६५ परिवारका सात हजार सात सय ९८ जनाको स्वास्थ बिमा भएको छ । स्वास्थ्य बिमा गर्नेहरुमा सवैभन्दा धेरै बेसीशहरका रहेका छन् । बेसीशहरमा मात्रै तीन हजार दुई सय ७८ जनाको बिमा भएको रेग्मीले बताइन् ।
रेग्मीका अनुसार जिल्लाको मस्र्याङदी गाउँपालिकाका दुई हजार तीन सय ४४ जनाको स्वास्थ्य बिमा भएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिकामा एक हजार ६ सय ३३, राइनास नगरपालिकामा एक हजार पाँच सय ८५, मध्यनेपाल नगरपालिकामा एक हजार तीन सय ३१, दोर्दी गाउँपालिकामा आठ सय २९, क्होलासोँथारमा आठ सय २३ र दूधपोखरी गाउँपालिकामा ६ सय २५ जनाको मात्रै बिमा भएको छ ।
साधारण बिमाबाहेक जिल्लाका एक सय ७९ महिला स्वास्थ्य स्वयंसेविकाको परिवारबाट सात सय १० जनाले बिमा गरेका छन् । त्यस्तै एक सय ३८ अपांगता भएका परिवारबाट पाँच सय ४८ जना, एचआईभी संक्रमित ४६ जनाको परिवारबाट ९५ जना, कुष्ठरोग भएका एक जनाको परिवारबाट दुई जनाको स्वास्थ्य बिमा भएको छ । सोबाहेक जिल्लाका तीन हजार तीन सय जना जेष्ठ नागरिकको पनि बिमा भएको छ ।
स्वास्थ्य बिमा प्रभावकारी कार्यान्वयनका लागि जिल्लाका सबै वडामा बिमादर्ता सहयोगी नियुक्त गरी तालिमसमेत प्रदान गरीएको थियो । प्रत्येक वडामा दर्ता सहयोगी नियुक्त गरेपनि आवश्यक सचेतनाको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
सरकारले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बिमा नीति २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाएको हो । स्वास्थ्य बिमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७०० रुपैयाँसमेत बिमाशुल्क तिर्नुपर्ने व्यवस्था छ ।