Logo

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

झापा-दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामग्री निर्यात गरेको छ ।
तर, यही अवधिमा बंगलादेशबाट भने २ अर्ब ६० करोड ९२ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको भन्सार प्रमुख ओली बताउँछन् । गत आर्थिक वर्षको यही अवधिमा नेपालले ३० लाख १ हजार बराबरको सामग्री निर्यात गरेको थियो । चालू आर्थिक वर्षको ६ महिनको अवधिमा झण्डै ८ लाख बराबरको भन्छामा प्रयोग हुने सामग्री मात्र निर्यात हुनुले यो वर्ष बंगादेशसँगको व्यापार इतिहासकै कमजोर अवस्थामा पुग्ने देखिएको नेपाल–बंगलादेश चेम्बर्स एन्ड ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नलाल जैनले बताउँछन् ।

नेपालले किन निर्यात गर्न सकेन
नेपालमा उत्पादन हुने अलैंची, अम्रिसो, अदुवा तथा फलफूलको बंगलादेशमा माग उच्च छ । तर, यी उत्पादनमा बंगलादेशले लगाएको अधिक भन्सार महसुलको कारण नेपाली निर्यातकर्ताले हात हाल्न नसकेको कुच्चो संघका अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।
नेपाली सामानलाई शून्य भन्सार सुविधा उपलब्ध गराइनुपर्ने भएपनि सरकारी पक्षबाट पहल हुन नसक्दा व्यापारघाटा उच्च बनेको कार्की बताउँछन् । बंगलाादेशले नेपाली अम्रिसोलाई ५७ प्रतिशत, अलैंचीलाई ३५ प्रतिशत, अदुवालाई ८ प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ ।
“नेपाल सरकारले बंगलादेशसँग दुवै देशका कृषि उत्पादन आयत, निर्यातमा भन्सार नलगाउने निर्णय गर्ने हो भने बंगलादेश हाम्रो कृषि उत्पादनको राम्रो बजार हो” कार्कीले भने । भन्सार छुट पाए नेपाली कृषिजन्य उत्पादनको निर्यातसमेत बढ्ने कार्कीले बताए ।

नेपालबाट के–के निर्यात हुनसक्थयो
नेपाल–बंगलादेश चेम्बर्स एन्ड ट्रेडर्सका संस्थापक अध्यक्ष जैनले सन् २०१० मा ८० टन अदुवा बंगलादेश निर्यात गरेका थिए । तर, अहिले नेपालको अदुवा बंगलादेश निर्यात गर्न सक्ने अवस्था नरहेको जैन बताउँछन् ।
“त्यस समयमा बंगलादेशमा नेपालको अदुवाको माग र मूल्य दुवै उच्च थियो । मंहगो भन्सार तिरेर पनि निर्यात गर्न सकिने अवस्था थियो” जैनले भने, “अहिले भारतले कृषकलाई अदुवा उत्पादनमा अनुदान दिएर उत्पादन बढाएको छ । बंगलादेशको बजार भारतीय अदुवाले कब्जा गरिसकेको छ ।”
सन् २००१ तर्फ फर्कने हो भने जैनले नेपालबाट बंगलादेश २ सय टनसम्म सुन्तला निर्यात गरेका थिए । “त्यस समयमा सरकारले १ ट्रक कृषि उत्पादन निर्यात गर्दा ८० हजार रुपैयाँ निर्यात अनुदान उपलब्ध गराउने गरेको थियो” जैनले कारोबारसँग भने, “सरकारले निर्यात अनुदान कटौती गरेसँगै नेपाली उत्पादन निर्यातको सम्भावना टरेको छ ।”
बंगलादेशमा माग रहेको जडीबुटी, अम्रिसोको निर्यात बढाउन सके मात्र व्यापार पुनः नेपालका पक्षमा आउने सम्भावना रहेको जैन बताउँछन् । “नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालबाट १ सय ८ वटा वस्तुलाई भन्साररहित सुविधा दिने निर्णय गरेको थियो, जैनले भने, “तर, उक्त वस्तुहरू नेपालमा उत्पादन नै नहुने, निर्यात गर्न नसकिने रहेका छन् ।” व्यापार नेपालको पक्षमा रहेको समयमा नेपालबाट मुसुरो दालको निर्यात पनि धेरै रहेको थियो ।
भन्सार कार्यालयको पछिल्लो ६ वर्षको तथ्यांक हेर्ने हो भने नेपाल र बंगलादेश बीचको व्यापार निरन्तर ओरालो लागेको देखिन्छ । आव २०७७÷०७८ मा नेपालबाट ६७ करोड, ३८ लाख, ९१ हजार रुपैयाँको निर्यात हुँदा बंगलादेशबाट ७ अर्ब, १५ करोड ७२ लाख ३४ हजार रुपैयाँ बराबरको आयात भएको थियो । गत आर्थिक वर्ष पनि नेपालले ६ अर्ब ४८ करोड, ३३ लाख ४३ हजार रुपैयाँ घाटा बेहोरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
नेपालले बंगलादेशबाट आलु, तेल, भटमासजन्य पदार्थ, तिल, गार्मेन्ट, केक, प्लास्टिकका सामग्री व्याट्री, भाडाका सामग्री, कस्मेटिकलगायतका सामग्री आयत गरेको भन्सारको तथ्यांकले देखाउँछ । दुई मुलुकबीच हाल काँकडभिट्टा –फूलबारी –बंगलाबन्द मार्गबाट व्यापार हुँदै आएको छ । यो मार्ग बंगलादेशसँगको व्यापारका लागि सबैभन्दा छोटो मार्ग मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्