Logo

डोकोबाटै घरघरमा पुग्छ ताजा तरकारी

रोल्पा-रोल्पाको लुंग्री गाउँपालिका–१ पाङका ६७ वर्षिय रणबहादुर विष्ट आफैंले उत्पादन गरेको तरकारी डोकोमा राखेर दिनहुँ छिमेकी एवम गाउँलेको घर दैलोमा पु-याउँछन् ।
उनका छिमेकी र नजिकका गाउँलेहरु अचेल तरकारी किन्न सुलिचौर झर्नुपर्दैन । सयौं रुपैयाँ गाडी भाडा तिरेर तरकारी किन्न सुलिचौर झर्नु पर्ने बाध्यताबाट मुक्ति पाएका उनीहरु आफ्नै गाउँमा उत्पादन हुने ताजा र स्वच्छ तरकारी खान पाएर दंग छन् ।
रोजगारीका लागि लामो समय जिल्ला बाहिर बसेका रणबहादुरलाई बुढ्यौलीले च्यापेसँगै घरमै बसेर स्वरोजर हुने सोच आयो । घरमै बसेर आय आर्जन गर्ने विकल्प खोज्दै जाँदा उनको रुचीमा तरकारी खेती प¥यो ।
उनले तरकारी खेती सुरुवात त गरे बजारकोे चिन्तासमेत सँगै थपियो । सुरु वर्ष थोरै जग्गामा मात्रै तरकारी खेती गरेका उनले उत्पादित तरकारी डोकोमा बोकेर छिमेकीका घर–घर पुगे । दिनहुँ डोकामा तराजु अनि तरकारी बोकेर आफ्नै घर आगनमा ताजा तरकारी बोकेर रणबहादुर आउन थालेपछि छिमेकीले समेत सहजता महसुस गर्न थाले । “घरमै ताजा तरकारी आउन थालेपछि तरकारी लिन सुलिचौर जाने बाध्यता ट¥यो” स्थानीय अनिषा पुनले भनिन् ।
सिजनमा २ लाखको तरकारी बिक्री गर्ने गरेको रणबहादुर बताउँछन् । तरकारी खेतीले उनको जीविकोपार्जनमा टेवा पुगेको छ । उनले तरकारी खेती गर्दा तालिमको अवसर समेत नपाएको बताउँछन् । अहिले तरकारीका लागी चाहिने कम्पोष्ट मल, झोलमल र विषादी समेत आफंै तयार गर्दछन् उनी ।

प्रतिक्रिया दिनुहोस्