Logo

कांग्रेसले सरकारको समीक्षा गर्छ : महामन्त्री शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन् ।
कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उनको भनाइ छ ।
त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए । उनले भने, ‘कांग्रेसले निर्वाचनतर्फ जाँदै गर्दा दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरितका गतिविधिहरु । जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के कुरामा सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको पर्फमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफैं पनि समीक्षा गरेर जान्छौँ । यसबीचमा जे कमजोरी सरकारबाट भएका छन् त्यसलाई कसरी करेक्सन गर्न सकिन्छ । सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनु-यो भनेर भन्छ ।’
महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरु पूरा हुन नसक्ने पनि बताए । सरकार संविधान अनुसार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै सो अनुसार भए नभएको जनताले समिक्षा गर्नुपर्ने बताए । त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिले भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुगिने उनले बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुनेपनि उनले जानकारी दिए । कांग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्