एनसेल बाह्रखरी गल्फ धरानमा हुने

विराटनगर-बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको जानकारी गराउँदै भने, “उद्योग संगठनसँगै मिलेर जसरी इकोनोमिक समिट आयोजना गरिएको छ । त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ ।”
पूर्व अर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । इकोनोमिक समिटमा कार्यपत्र प्रस्तुतिका सम्बन्धमा उनले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रुपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए । “आर्थिक गतिविधिमा सीमित व्यक्तिको नियन्त्रण मात्रै रहनुहुँदैन भन्ने लाग्छ,” खनालले भने, “बाह्रखरीले गरेका कार्यक्रमबाट निकालिएका निष्कर्षले नीति निर्माणमा सहयोग पुगोस् भनेर एक वर्ष बाह्रखरीले रिपोर्टिङ गर्ने प्रतिबद्धता पनि जनाएको छ ।” उनले अब राजनीतिबाट समृद्धि सम्भव नभएको बताए ।
“अब राजनीतिबाट समृद्धि सम्भव भएन । जसले जहाँ सक्छ त्यहाँ लाभ लिने प्रवृत्ति बढेको छ । यो समस्या निजी क्षेत्रमा पनि छ । धन संग्रह आफूले मात्रै गर्ने प्रवृत्ति देखिएको छ,” उनले भने, “त्यसले समष्टिगतरुपमा विकास हुँदो रहेनछ । अब गर्ने भनेको निजी क्षेत्रले नै हो । अबको समृद्धि युवा उद्यमशिलताबाटै हुने हो । यो उद्यमीको केन्द्र पनि हो । तर अब निष्ठावान पौरखी उद्यमी होस् लुटतन्त्रमा विश्वास नगरोस् । नवीन सोचमा आधारित भएर गर्ने हो भने सफलता प्राप्त गर्न सकिनेछ ।”
त्यसैगरी युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले यस क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै यो कार्यक्रम समृद्धिको इन्जिन भएको बताए । व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए । उनले धेरैलाई अनौठो लाग्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।