आगलागीबाट घरबारविहिन विपन्न दलित परिवारलाई टेवाको राहत सहयोग

सर्लाही – मधेस प्रदेशका आगलागीबाट घरसहित सम्पूर्ण सामग्रीहरु नष्ट भएका विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामग्री सहयोग गरिएको छ । टेवाको आर्थिक सहयोग तथा भोरको पहल र व्यवस्थापनमा आगलागीबाट घरविहीन भएका सर्लाही र सप्तरीका ९ विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।
चामल, दाल, नुन, खानेतेल, सोयाबिन, त्रिपाल, बालटिन, मग, खाना पकाउने भाडाकुँडा तथा फाइबर सिरक सहितको सामग्रीहरु उक्त खाधान्न तथा राहत प्याकेजमा समावेश गरिएको छ ।
सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–७ चकदह सदा टोलका ७ मुसहर परिवार, सर्लाही चन्द्रनगर गाउँपालिका–३ का बरकुर्बाटोलका १ अति विपन्न परिवार, कविलासी नगरपालिका–७ सिर्सियाका १ विपन्न चमार परिवारलाई उक्त खाधान्न तथा राहत सामग्री सहयोग गरिएको छ ।
भाडाकँुडा, खाधान्न र लताकपडा सम्पूर्ण समाग्री नष्ट भई सकेको अवस्थामा ती विपन्न परिवारहरुको जीवन निकै कष्टपूर्ण भएको तथ्य सुरुङ्गा नगरपालिका–७ का वडा अध्यक्ष शिव नारायण चौधरीले बताए ।
आगलागी प्रभावित भएर निकै कष्टपुर्ण अवस्थामा बाँचिरहेका परिवारलाई राहत गरेर टेवाले महत्वपूर्ण सहयोग गरेको कविलासी नगरपालिका निवासी तथा आगलागी पीडित जोगी महराले बताए ।