स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको राष्ट्रिय युवा संघ, नेपालले आरोप लगाएको छ ।
मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरुउपर छानविन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानूनी प्रावधान बमोजिम कारबाही गर्न माग गरिएको संघका अध्यक्ष किरण पौडेलले बताए । उनले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाति कदम भएको बताए । अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको बताए ।