Logo

ऊर्जा उत्पादन बढ्यो भन्दैमा ढुक्क भएर बस्नु हुँदैन


वातावरण इन्जिनियरिङमा विद्यावारिधि र सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका डा. विजय थापा ऊर्जा र वातावरण विज्ञको रूपमा चिनिन्छन् । नर्वेजियन सरकारको सहयोगमा इनरजाइज नेपालको कार्यक्रम व्यवस्थापकसमेत रहेका उनीसँग सेभ द चिल्ड्रेनका साथै ऊर्जाका क्षेत्रमा काम गरेको अनुभव छ । इनरजाइज नेपाल कार्यक्रमले हाल काठमाडौँ विश्वविद्यालय (केयू) मा अध्ययन र अनुसन्धानमा सहायता गर्दै पनि आएको छ । ऊर्जासँग सम्बन्धित टर्बाइन, टनेलिङ, विद्युतीय चुलो, बायो ग्यास, हाइड्रो ल्याब, हाइड्रोजन, ऊर्जा दक्षतामैत्री घर, लेउबाट ऊर्जा उत्पादनलगायतका क्षेत्रको अध्ययन र अनुसन्धानमा सहायता दिँदै आएका उनीसँगै नेपालको ऊर्जाको अवस्था, वातावरण, ऊर्जा क्षेत्रमा भइरहेका अध्ययन–अनुसन्धान, आगामी दिनमा ऊर्जा क्षेत्रको विकासका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

नेपालको ऊर्जा क्षेत्रको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिले गरिने विश्लेषणभन्दा फरक ढंगले व्याख्या गर्नुपर्ने आवश्यकता देखेको छु । ऊर्जा भन्ने कुरा कहिले पनि पर्याप्त हुँदैन । ऊर्जा उत्पादन बढ्यो भन्दैमा खुसी हुनु एक पक्ष हो, ढुक्क भएर बस्ने स्थिति हुँदैन । ऊर्जाको उपयोग बहुउपयोगी हुन्छ । ऊर्जा भन्दैमा हामी बत्तीको लागि मात्र लिइने गरिन्छ, जुन केही हदसम्म मात्र सही हो । खाना पकाउने ऊर्जा, गाडी र इन्धन चलाउने ऊर्जा सबैका लागि आवश्यक ऊर्जाको पनि आपूर्ति हुनुपर्छ । ऊर्जा बेच्ने कुरा हुँदै गर्दा पनि हाल उत्पादित ऊर्जा बत्ती बाल्ने बाहेकका अन्य मागका बारे विचार गर्दा अझै पनि अपर्याप्त देखिन्छ । अझै पनि ऊर्जा आपूर्ति बर्सात र हिउँद समयमा फरक छ । यसका लागि इनर्जी बैंकिङजस्ता कुराबारे बेलाबेलामा उल्लेख हुन्छ, तर कार्यान्वयन हुन सकेको छैन । ट्रान्सफर्मर पड्कने समस्या सामान्यजस्तो भएको छ । इलेक्ट्रिक गाडी किन्दा आत्मबल आउँदैन । इलेक्ट्रिक चुलो किने पनि ब्याक–अपमा ग्यास वा पेट्रोल चुलो राख्नुपर्ने अवस्था छ । इमर्जेन्सी बत्तीलाई मोबाइलले रिपेल्स मात्र गरेको हो । विकल्पका बारेमा मनन अझै पनि गर्नुपर्ने आवश्यकता छ ।

नेपालको ऊर्जालाई स्वच्छ ऊर्जाको रूपमा हेरिन्छ, के नेपाल आफैंले स्वच्छ ऊर्जामार्फत वातावरण क्षेत्रमा योगदान गर्न सक्ने अवस्था देख्नुहुन्छ ?
अवश्य पनि सक्छ । ऊर्जा भन्नासाथ वातावरण जोडिएर आउने कुरा हो । हाम्रो ऊर्जाको माग कति छ, आपूर्ति कति र कहाँबाट हुन्छ ? यी निकै आवश्यक कुरा हुन् । नेपालको बत्तीका लागि ऊर्जा आपूर्ति विशेषगरी जलविद्युतबाट हुन्छ भने अन्य प्रायोजनका लागि खनिज तेलबाट हुने गर्छ । जलविद्युत नेपालमै उत्पादन हुन्छ भने खनिज तेल आयात गरिन्छ । जलवायु परिवर्तन तथा ग्रिन ग्यास उत्सर्जनमा खनिज तेलको हिस्सा बढी हुन्छ । खनिज तेलको निर्भरता कम गर्नासाथ वातावरण ह्रास हुँदैन भन्न मिल्दैन, तर धेरै हदसम्म कम भने गर्छ । यसका लागि थप जलविद्युत वा नवीकरणीय ऊर्जामा जोड दिन आवश्यक देखिन्छ ।

ऊर्जाको विकासका लागि अध्ययन र अनुसन्धान क्षेत्रमा जोडिनुभएको छ, तपाईंहरूले अध्ययन र अनुसन्धानमा कसरी सहयोग गरिरहनुभएको छ ?
अहिले मेरो भूमिका भनेको अध्ययन र अनुसन्धानमा संलग्न संस्था तथा व्यक्तिहरूसँग समन्वय गरी आवश्यक सहयोग गर्ने हो । यो भूमिका मलाई मन पर्नुका कारणहरू धेरै छन् । पहिलो, मैले मेरो स्नातकोत्तरको शोधपत्रका लागि फोहोरबाट इथानोल उत्पादन गर्ने थियो, जुन सफलतापूर्वक सम्पन्न गरें । प्रविधि र उत्पादन निकै उपयोगी हुन सक्थ्यो । मैले यसलाई देश र प्रविधिको हितका लागि केही गर्न सकिनँ । कहाँ जाने, के गर्ने पनि थाहा भएन । अहिले मैले कार्य गर्ने जस्तो संस्था र मेरो भूमिकामा भएको व्यक्तिसँग सहकार्य गर्न पाएको भए सायद केही गर्न सकिन्थ्यो होला ।
अहिले इनरजाइज नेपाल प्रोग्राममार्फत हामीले नयाँ प्रविधिमा अध्ययन तथा अनुसन्धानमा सहयोग गर्छौं, तर हाम्रो एउटा मात्र सर्त छ । उत्पादन वा सेवा रिपिट वा उद्योगका रूपमा स्थापना गर्न सकिने हुनुपर्छ । हाल यस आयोजनाले २१ वटा यस्ता विचार र सोचलाई सहयोग गरिरहेको छ भने थप दुईमध्ये नेपाल हाइड्रोजन इनिसियटिभमा सहयोग र ऊर्जा प्रविधिसम्बन्धी अनुसन्धान गर्न काठमाडांै विश्वविद्यालयमा ल्याब स्थापनाका लागि सहयोग गरेको छ ।

अध्ययन र अनुसन्धानबाट केके उपलब्धि हासिल गर्नुभयो ? यसले देशको विकासका लागि कसरी सहयोग पुग्छ ?
फोहोरबाट हाइड्रोजन ग्यास उत्पादन गर्ने र थप बाई प्रोडक्टबाट बायोग्यास उत्पादन गर्ने रहेका छन्, जुन अझै पाइलटिङ फेजमा छ । संस्थागत रूपमा इनरजाइज नेपालको उपलब्धिबारे कुरा गर्दा यसबाट चारवटा उत्पादन बजारीकरण गर्न सकिने स्थितिमा छन् भने सेवाको क्षेत्रबाट पनि धेरै उपलब्धि प्राप्त गरिएको छ । पाँचवटा ऊर्जा सम्बन्धित आइडियालाई बजारीकरण गर्न बिजनेस इन्क्युबेसनसहित हाल २३ वटा आयोजनासँग सलग्न भई कार्य भइरहेको छ भने आगामी तीन वर्षभित्र थप १२ वटा उद्योगसँग संलग्न भएर गरिने अनुसन्धान, १५ वटा ऊर्जा सम्बन्धित उत्पादनलाई बजारीकरण गर्न बिजनेस इन्क्युबेसन, नेपालका लागि ऊर्जा क्षेत्रमा जनशक्ति विकासका लागि १० वटा विद्यावारिधि र ३० वटा स्नातकोत्तरका लागि सहयोग गर्दै छौं ।

अनुसन्धानबाट विकसित प्रविधि र उपकरणहरूको उपयोग अहिले ऊर्जा क्षेत्रमा कसरी भइरहेको छ ?
विश्वमा मात्र नभई नेपालमा पनि हाल अनुसन्धान सम्बन्धित क्रियाकलाप निकै नै बढ्दै गइरहेको छ । कारण यस क्षेत्रमा जनशक्तिको गुणात्मक र गुणस्तरमा वृद्धिसँगै अनुसन्धानले बजारको रूप लिनु रहेको छ । इनरजाइज नेपालको सहयोगमा कम पानीको बहाव र उचाइ भएका स्थानहरूमा उपयोग गरी जलविद्युत उत्पादन गर्न सकिने टर्गो टर्बाइनको उत्पादन गरी हाल नौबीसेमा सफलतापूर्वक सञ्चालनमा छ भने तेह्रथुममा एक लघुजलविद्युत आयोजना स्थापना गरी सञ्चालनमा ल्याउने तयारीमा छ । त्यस्तै नेपालमै टर्बाइन उत्पादन गरी बन्द भएको चौंरी खोला लघु जलविद्युत आयोजना स्थापना गरी पुनस्र्थापित गरेर स्थानीयलाई संलग्न गरी सञ्चालनमा ल्याउन लागिएको छ । यो काममा पुग्न अनुसन्धान पक्कै पनि आवश्यक थियो भने अनुसन्धानका लागि आवश्यक पूर्वाधार र जनशक्तिको विकास पनि त्यत्तिकै आवश्यक छ । पक्कै पनि यो विकास पर्याप्त छैन, तर जति विकास भएका छन, बजार पाउने सम्भावना बढी छ । अबको आवश्यकता भनेको अनुसन्धानको नामका लागि मात्र नभई विकास र बजारमा खपत हुने खालका क्षेत्रमा अनुसन्धान हुनु आवश्यक हो ।

नेपाल ऊर्जाका प्रविधि र उपकरणहरूमा कति परनिर्भर छौं ? कसरी स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने अवस्था छ ?
अहिले इनरजाइज नेपालको नेपाल ऊर्जाका प्रविधि र उपकरणमा परनिर्भरता कम गर्नु रहेको छ । विद्यावारिधिका क्रममा चाइना भ्रमण गर्ने अवसर जुरेको थियो । यसमा थ्री गर्ज ड्याम पनि भ्रमण गर्ने अवसर मिल्यो । यसका लागि आवश्यक संरचना निर्माण गर्दा सम्पूर्ण अध्ययन गर्ने परामर्शदाता र ठेकेदार कम्पनी चाइनामा त्यो बेला उपलब्ध रहेनछ । हालको नेपालको स्थिति जस्तै । चाइनाले विदेशी सहयोग लिनुपर्ने भयो, तर उसले चलाखीपूर्ण र दीर्घकालीन राष्ट्रलाई फाइदा हुने गरी सम्पूर्ण ठेक्का विदेशी कम्पनीलाई नदिई केही अंश चाइनिज कम्पनीलाई दियो । यसको फाइदा भनेको परियोजनाको निर्माणमात्र नभई जनशक्ति र वृत्ति विकास पनि भयो, जसको प्रतिफलबापत नेपालका ठूला जलविद्युत आयोजनामा समेत चाइनिज कम्पनीहरू संलग्न रहेका छन् । यसमा क्षमता मात्र नभई सरकारी निकायको संलग्नता पनि उत्तिकै आवश्यक देख्न सकिन्छ ।

नेपालमै टर्बाइन निर्माणका लागिसमेत पहल भइरहेको छ, के यो सम्भव छ त ? कसरी ?
इनरजाइज नेपालको सहयोगमा यसबारे अध्ययन भइरहेको छ । अनुसन्धानबाट सफल भएमा यसमा अघि बढ्न सकिन्छ । हामीले त कार्यक्रम त गरेका छौं, यसमा सरोकारवाला निकायको सहभागिता आवश्यक हुन्छ । अधिकांश संघसस्थाले यस क्षेत्रमा सहयोग गरेर र साथसाथै हिँडेमा धेरै सम्भावना देखिन्छ ।

सबै ऊर्जाका प्रविधिलाई एउटै प्रणालीमा ल्याउने कुरा गर्नुभएको छ, यसमा के प्रगति छ ?
यो इनर्जी प्लानिङअन्तर्गत पर्ने कुरा हो । यसैसँग सम्बन्धित विद्यावारिधिका लागि अध्ययनमा इनरजाइज नेपालको सहयोगमा मेकानिकल डिपार्टमेन्टअन्तर्गत एक जनाले अनुसन्धान गर्दै हुनुहुन्छ । त्यस अनुसन्धानको हालसम्मको रिजल्टका आधारमा भन्नुपर्दा नेपालको भौगोलिक कारणले हरेक क्षेत्रमा ग्रिड लाइन पु¥याउन महँगो हुने हुन्छ । त्यसका लागि ग्रिड लाइनबाट टाढा रहेका बस्तीमा अन्य विकल्प जस्तै लघु जलविद्युत, सोलार, वायुबाट ऊर्जा आपूर्ति गर्न सकिन्छ । एउटै प्रणालीमा ल्याउन एक यस्तो बस्तीमा उपलब्ध सबै विकल्पबारे अध्ययन गरी मिनी ग्रिड स्थापना गर्न सकिन्छ भने केन्द्रीय स्तरमा जलविद्युतबाट मात्र आपूर्ति नगरी सोलार प्लान्ट (हाल बेलचौतारा सोलार फार्म) लाई जोड्ने क्रममा र थप विभिन्न ऊर्जा स्रोतसँग नेपाल विद्युत प्राधिकरणले पावर खरिद सम्झौता गरिसकेको छ । यो सम्भावित प्रविधि हो र यसको सफल कार्यान्वयन गर्दा देश र जनतालाई लाभ नै हुने म ठान्छु ।

ऊर्जा दक्षतापूर्ण घर, बायोग्यासबाट हाइड्रोजन निर्माणलगायतका कार्यहरू पनि भइरहेका छन्, यसको विकासका लागि के गरिरहनुभएको छ ?
काठमाडौँ विश्वविद्यालयमा हाल ऊर्जा दक्षताका लागि तापक्रम नियन्त्रण गर्न सस्तो प्रविधिको विकास भएको छ । यसले भित्री र बाह्य तापक्रम नियन्त्रणका लागि डोर ब्रोवरको पाइलटिङ भएको छ भने थप अध्ययन अनुसन्धान गरिँदै छ । यसको उद्देश्य अनुसन्धानमा सीमित नभई बजारीकरणसम्म कसरी पु-याउन सकिन्छ भन्नेबारे हो भने यसका लागि आवश्यक कानुनी हस्तक्षेप पनि सिफारिस गरी सरकारी निकायसँग सहकार्य गरी कार्यक्रमहरूमार्फत यस्ता प्रविधिसँग सम्बन्धित कुराहरूका बारे जनचेतना कार्यक्रमहरू गर्ने रहेको छ ।
त्यस्तै हाइड्रोजनसँग सम्बन्धित योजनाहरूमा एक भनेको हाल सञ्चालित बायोग्यास प्रविधिमा एक ट्याङ्क थप गरी अगाडिको ट्याङ्कमा हाइड्रोजन उत्पादन गरी त्यसबाट फोहोरलाई पहिलेकै जसरी बायोग्यास पनि उत्पादन गरिन्छ । हाइड्रोजन र बायोग्यास संयुक्त रूपमा बायो हाइथेन भनिन्छ । यसमा बायो ग्यासभन्दा बढी ऊर्जा उत्पादन हुने हुन्छ । यसको ल्याब स्केल अध्ययनमा प्राविधिक र आर्थिक रूपमा सम्भावित देखिएको छ । यसको पाइलटिङ गरिनेछ ।
त्यस्तै अहिले जलविद्युतबाट अतिरिक्त ऊर्जा प्रयोग गरी हाइड्रोजन उत्पादन गरी खाना पकाउन, गाडीका लागि इन्धन, मल उत्पादन लगायतका प्रायोजनलाई प्रयोग गर्न सकिन्छ । यसका लागि पनि इनरजाइज नेपालले काठमाडौं विश्वविद्यालयद्वारा इनिसियसन लिइएको नेपाल हाइड्रोजन इनिसियसनलाई सहयोग गरेको छ ।

अरू देशहरूले विकसित गरेका धेरै प्रविधि र उपकरणहरू नेपालमै उत्पादन भएर अहिलेको अधिकतम आयातको परनिर्भरताको अन्त्य गरेर स्वदेशमै हामी उत्पादनमा आत्मनिर्भर हुने अवस्था कहिले आउला ? यसको भविष्य कस्तो देख्नुहुन्छ ?
यूएनएफसीसीमा पेस गरिएको नेपालको नेसनल डिटरमाइन्ड कन्ट्रिब्युसन, २०२० का अनुसार २०३० सम्ममा १५ हजार मेगावाट ऊर्जा उत्पादन गर्ने योजना लिएको छ, जसमध्ये ५ देखि १० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्ने पनि योजना लिएको छ । यत्रो निर्माण कार्य हुँदा अवसर अत्यधिक देखिन्छ । केही हदसम्म आयात गरी पूर्ति गरिएला तर केही उत्पादन त पक्कै नेपालमै विकास भएका प्रविधि र उपकरणलाई समावेश गर्न सकिन्छ । २०३० पश्चात् के त ? २०३० सम्ममा ऊर्जाको माग अझै बढ्नेछ । वातावरणका हिसाबले पनि नियम–कानुन अझै कडा होला, फोसिल फ्युलको प्रयोगमा कमी ल्याउनुपर्ने हुनेछ । नवीकरणीय ऊर्जामा २०३० पश्चात् देशकै प्रविधि र उपकरण प्रयोग गर्न सकिनेछ ।

नेपालमै ऊर्जाका प्रविधि र उपकरण उत्पादन र विकासका लागि निजी क्षेत्रको सहभागिताको सम्भावनालाई कसरी हेर्नुभएको छ ? यसमा कसरी सहभागी गराउन सकिन्छ ?
अध्ययन अनुसन्धान गर्ने गराउने संस्थाले गरेका कार्यलाई निजी क्षेत्रले बजारीकरण गर्ने गराउने र सरकारी निकायले नियमन गर्नुपर्छ । यसमध्ये कुनै पनि निकाय नहुँदा प्रविधिको इको सिस्टम नै पूरा हुँदैन । निजी क्षेत्रको अभावमा भएका अध्ययन–अनुसन्धान शोधपत्रमा सीमित हुन्छ । साथै इनरजाइज नेपालको सहयोगमा भएका अध्ययन–अनुसन्धानमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गरिएको छ । हाम्रो अनुभवमा निजी क्षेत्रलाई गरिएको प्रोत्साहनभन्दा अत्यधिक उत्पादन भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्