Logo

निर्यात प्रवद्र्धन र लगानी बढाउन निजी क्षेत्रको जोड


बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले बेलायतसँग व्यापार विस्तार र लगानी भित्र्याउन गर्न सक्ने पहल र सम्भावनाका बारेमा निजी क्षेत्रसँग छलफल गरेका छन् ।
नवनियुक्त राजदूत आचार्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर बेलायतसँग व्यापार विस्तारका सम्भावनाका बारेमा छलफल गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँगको सम्बन्ध इतिहासमा मात्रै सीमित रहेकोले अब लगानीमा जोड्नुपर्ने बताए । अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा राख्न पनि राजदूत आचार्यलाई सुझाव दिए । उनले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए ।
पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । “पूर्वाधार, श्रम सम्बन्ध, विद्युत आपूर्ति आदिमा उल्लेख सुधार भइरहेको छ” उनले भने, “हामीले बेलायतमा यी विषय प्रस्तुत गर्न सक्नुपर्छ ।”
यस्तै परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न राजदूत आचार्यको ध्यानाकर्षण गराएको छ । परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको छ ।
अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए ।
“नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ” उनले भने, “नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त सम्भावना छ ।”
राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए । उनले नेपाली गलैंचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक सम्भावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे ।
बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक, सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए । राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे ।
“दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौं” राजदूत आचार्यले भने, “त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।” नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उनको भनाइ छ ।
बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि निजी क्षेत्रले सुझाव दिएको छ । बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्