Logo

नेपालगन्जमा एभियसन म्युजियम सञ्चालन

नेपालगन्जमा ‘एभियसन म्युजियम’ स्थापना गरिएको छ । यसअघि धनगढीमा रहेको म्युजियमलाई नेपालगन्जमा ल्याएर स्थापना गरिएको हो ।
विद्यार्थीहरुलाई हवाईसम्बन्धी जानकारी दिने र आन्तरिक पर्यटनमा टेवा पु-याउने उद्देश्यले म्युजियम स्थापना गरी सञ्चालनमा ल्याइएको हो । नेपालगन्ज–१२ बेलासपुरस्थित उपमहानगरपालिकाको करिब ६ कठ्ठा जमिनमा उक्त म्युजियम स्थापना गरिएको हो ।
कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियमका रुपमा राखिएको छ । उक्त जहाजभित्र २ सय ५० भन्दा बढी मोडेलका साना जहाजहरू पनि प्रर्दशनीका लागि राखिएको छ म्युजियमका सञ्चालक क्याप्टेन वेद उप्रेतीले बताए । एक करोड ८० लाख रुपैयाँको लागतमा स्थापना गरिएको म्युजियमभित्र पश्चिम नेपाल र सगरमाथा क्षेत्रका ३० वटा उत्कृष्ट तस्बिर पनि राखिएको उनको भनाइ छ । म्युजियममा ७ मिनेटको एउटा डकुमेन्ट्री पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
क्याप्टेन उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेको र त्यहाँको जग्गाको करार सकिएका कारण नेपालगन्जमा ल्याइएको बताए । धनगढीमा पर्यटकको रोजाइमा पर्ने गरेको म्युजियम अव नेपालगन्जको महत्वपूर्ण गन्तव्यका रुपमा रहने उनको भनाइ छ । विशेषगरि विद्यार्थीका लागि अध्ययन स्थलका रुपमा संग्राहलय फलदायी हुने दावी सञ्चालको छ । अन्यका लागिसमेत एभियसन तथा पर्यटकीय गन्तव्यको जानकारी पाउने एउटा महत्वपूर्ण थलो हुने उप्रेती बताउँछन् ।
म्युजियम अवलोकनवापत उठेको आम्दानी ट्रष्टले विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताइएको छ । नेपालगन्ज १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले वडा कार्यालयसँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित म्युजियम राखिएको बताए । उपमहानगरपालिकाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको उनको भनाइ छ । “पढ्ने उमेरका बच्चालाई जहाजको विषयमा धेरै कौतुहलता यो म्युजियम हेरेर पुरा हुने विश्वास छ” वडाअध्यक्ष सुवेदीले भने, “यसले यहाँको आन्तरिक पर्यटनमा टेवा पु-याउने विश्वास लिएको छु ।”
वेद उप्रेती ट्रष्टले काठमाडौंमा करिव ५ करोडको लगानीमा म्युजियम सञ्चालन गरिरहेको छ भने महेन्द्रनगरमा पनि यस किसिमको जानकारी मुलक म्युजियम सञ्चालन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्