ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने «

ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरे । सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनका लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको पनि बताए । मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताए । महानगरपालिकाभित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उनको भनाइ छ ।
त्यस्तै मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिकाभित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताए । उनले अगाडि नै लाइट जडान गर्ने टेण्डर गरे पनि अख्तियारमा उजुरी परेका कारण काम गर्न नकिएको बताए । तर अहिले अख्तियारलाई स्पष्ट बनाएर ट्राफिक लाइट जडानका लागि ठेक्कासमेत स्वीकृत भएकाले चाँडै लाइट जडान गरिने पनि मेयर महर्जनले बताए । अब जडान गरिने लाइट नयाँ टेक्नोलोजी अनुसारको ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने मेयर महर्जनको भनाइ छ ।
ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधारणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजस्व कति तिर्नु पर्नेलगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिंगरोडभित्र तीन र रिंगरोड बाहिर चार स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्