Logo

मारुती सिमेन्टद्वारा एम्बुलेन्स प्रदान

विराटनगर– मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ ।
दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रालिका सञ्चालक तथा प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका सञ्चालक राउतले स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । मेयरको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका सञ्चालक राउतले बताए ।
एम्बुलेन्स ग्रहण गरी वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउँदै मेयर राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भए पनि विकट १४ नम्बर वडालाई प्रालिले सहयोग गरेकोमा धन्यवाद दिए ।
सिमेन्टका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिरहेको छ । मारुती सिमेण्टका लागि प्रालिले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन् गरिरहेको छ । त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रालिले विभिन्न सहयोगहरु गरिरहेको छ ।
वडाध्यक्ष थापा मगरले प्रालिले पूर्वाधार विकास, विद्युतलगायत तटबाँध लगाउनेदेखि स्थानीयलाई रोजगार दिनेसमेत गरिरहेको जानकारी दिए । हाल ३० जना स्थानीयले गाउँमै प्रालिमा रोजगारी पाइरहेको पनि वडाध्यक्ष मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्