पाँचथरमा १० वर्षमा १७ हजार जनसंख्या घट्यो

पाँचथर– केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को प्रारम्भिक तथ्यांकअनुसार पाँचथरको जनसंख्या एक लाख ७४ हजार ४ सय १९ छ । जुन २०६८ को जनसंख्याभन्दा १७ हजार ३ सय ९९ ले कम हो । अहिले पाँचथरको जनसंख्या वृद्धिदर ऋणात्मक छ । वृद्धिदर –०.९१ रहेको तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । २०६८ को जनसंख्याअनुसार पाँचथरको जनसंख्या एक लाख ९१ हजार ८ सय १७ थियो ।
प्रारम्भिक जनसंख्याअनुसार पाँचथरमा ४३ हजार तीन परिवार र एक लाख, चौरहत्तर हजार ४ सय १९ जनसंख्या रहेको छ । जसमा, ८७ हजार ३३ जना पुरुष र ८७ हजार ३ सय ८६ जना महिला रहेको जनाइएको छ ।
प्रारम्भिक जनसंख्याअनुसार पाँचथरमा सबैभन्दा बढी जनसंख्या फिदिम नगरपालिकको ४८ हजार ७ सय १३ रहेको छ । सबैभन्दा कम तुम्बेबा गाउँपालिकामा ११ हजार ६३ छ ।
पाँचथरको जनसंख्या घट्नुको मुख्य कारण बसाइँ सराइ नै रहेको जानकारहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालय, जनसंख्या विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्मा तराईमा जनसंख्या वृद्धिदर अन्यत्रभन्दा बढी हुनुमा बसाइँ सराइ नै मुख्य कारण रहेको बताउँछन् । तराईमा भन्दा पहाडमा गरिखान बढी समस्या रहेकाले तराईतर्फ बसाइँ सराइ गर्ने क्रम चलिरहेको उनी बताउँछन् । “तराईमा उत्पादन र वितरण पहाड र हिमालमा भन्दा सहज छ, त्यसैले मान्छे त्यता सरिरहेका छन्,” उनी भन्छन् ।