आर्थिक अनुशासन र वित्तीय पारदर्शितामा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण

महालेखा परीक्षक टंकमणी शर्मा दंगालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महालेखा परीक्षक शर्माले लेखा व्यवसायका लागि आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिन आग्रह गरे । मुलुकमा वित्तीय पारर्दशिता तथा सुशासन कायम गर्नतर्फ लेखा व्यवसायीले ध्यान दिनुपर्ने उनको भनाइ छ । लेखा व्यवसायका विषयमा कहिलेकाहीं गुनासो आउने गरेको उल्लेख गर्दै उनले कामप्रति जिम्मेवार रहन पनि आग्रह गरे । मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रविधिवाट हुने गरेको उल्लेख गर्दै उनले लेखा व्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन सुझाव दिए ।
संस्थाका पूर्व अध्यक्ष तिर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, संस्थाका कार्यकारी निर्देशक सन्जयकुमार सिन्हालगायतले संस्थाका विविध पक्षबारे चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिमा उत्कृष्ट योगदान पु¥याउने संस्थाको अन्तरिम तथा प्रथम परिषदका अध्यक्ष स्व.कोमलबहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने आठौं परिषदका अध्यक्षहरु सिए जगन्नाथ उपाध्याय निरौला, सिए कृष्णप्रसाद आचार्य र सिए मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो । यस्तै संस्थामा २० वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई दिर्घसेवा पदक प्रदान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने कर्मचारी पनि सम्मानित भएका छन् ।
संस्थामा हालसम्म १७२९ जना चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु र ‘ख’, ‘ग’ र ‘घ’ वर्ग गरी कुल ७२३६ जना दर्तावाला लेखापरीक्षक सदस्य आवद्ध छन् । संस्थाले हालसम्म ६३२ जना चाटर्ड एकाउन्टेन्ट्स उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।