खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर प्रयोग गर्न पाउने

मोबाइल वालेट सेवा प्रदायक खल्ती र भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतामा फोनपेका तर्फबाट दिवस सापकोटा र खल्तीका तर्फबाट विनय खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै खल्ती फोन पेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका प्रयोगकर्ताहरुले फोन पेको क्यूआर सेवा प्रयोग गर्न सक्नेछन् । अब फोन पेको क्यूआर पेमेन्ट सेवा उपलब्ध भएको स्थानमा खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ ।
यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने दुवै कम्पनीले अपेक्षा रहेको जनाएका छन् । फोन पेका नायव प्रमुख कार्यकारी सापकोटाले यो सम्झौता डिजिटल भुक्तानीमा ठूलो अर्थ राख्ने बताए । “यो सम्झौताले लेस क्यास सोसाइटी बनाउन सहयोग गर्ने छ” उनले भने, “खल्तीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।”
यस्तै खल्तीका सीईओ खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने कार्य भएको बताए । “फोन पेसँगको यो सहकार्य नयाँ यात्राको सुरुवात हो” उनले भने, “यो सम्झौताले लाखौं उपभोक्ताले लाभान्वित हुनेछन् ।”
दुई वर्षअघि स्थापना भएको फोन पेमा हाल ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन् । यसमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।सुन २०१७ मा सेवा शुरु गरेको खल्तीका हाल २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको जनाएको छ । खल्तीबाट युटिलिटी बिल पेमेन्टदेखि अनलाइन सपिङ पेमेन्ट गर्न सकिन्छ ।