Logo

भटमास चिउरा खाएर, सुकुम्बासीको घरमा बसी लालपुर्जा दिएरै छाड्छौं : भूमि आयोग अध्यक्ष तिमिल्सिना

चितवन – राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भटमास चिउरा खाएर, सुकुम्बासीको घरमा बसेर लालपुर्जा प्रदान गरिने बताएका छन् । सोमबार भरतपुरको विभिन्न सुकुम्बासी संघ–संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष तिमलसिनाले सो कुरा बताए ।
सुकुम्बासी बस्ती रहेको भरतपुरको वडा नम्बर ११ र २ का स्थानीयहरूलाई सम्बोधन गर्दै उनले सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।
यसअघिको सरकारले सुकुम्बासीलाई जग्गा वितरण गर्ने भन्दै आँखामा छारो हाल्ने काम गरेको भन्दै उनले अब भने वास्तविक सुकुम्बासीले केही दिनभित्र सेतो नभई रातो लालपुर्जा पाउने प्रतिबद्धता व्यक्त गरे ।
केपी ओली नेतृत्व सरकारले संसद् विघटन गरी निर्वाचन मिति घोषणा गरेर भूमि समस्या समाधान आयोग निर्माण गरी चौतर्फी भ्रम छरेको उनको भनाइ थियो । अध्यक्ष तिमलसिनाले निर्वाचन घोषणा भएपछि आचारसंहिता लागू हुने र त्यसबीचमा लालपुर्जा वितरण गर्न नमिले पनि आफ्ना कार्यकर्ता पोषाउन आयोग गठनको नाटक मञ्चन भएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल सुकुम्बासीहरूलाई लालपुर्जा वितरण निर्देशन दिनुभएसँगै आफू यो काम फत्ते पार्न जुटेको उनले जानकारी दिए ।
लामो समयदेखि आफू सुकुम्बासीको हकहितमा काम गर्दै आइरहेकाले यस पटक भने लालपुर्जा दिलाएरै छाड्न कुनै पनि कसुर बाँकी नराख्ने उनको भनाइ थियो । जिल्लामा रहेका सुकुम्बासीलाई ३ चरणमा वर्गीकरण गरी लालपुर्जा वितरण गर्न लागिएको छ ।
आयोगले दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासी र अव्यवस्थित गरी लालपुर्जा वितरण गर्न लागिएको छ ।
सुकुम्बासी समस्या समाधान गर्न भन्दै सरकारले यसअघि १७ वटा आयोग गठन गरेपनि सुकुम्बासीहरूले लालपुर्जा पाउन सकेका छैनन् । जिल्लामा करिब ५० हजार सुकुम्बासी छन् । सोही अवसरमा उनलाई खादा लगाएर सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्