आर्थिक समृद्धिका दस आयाम

आर्थिक समृद्धिमा काँध थाप्न सक्ने, मुलुकको समष्टिगत उत्पादन र उत्पादकत्व फराकिलो पार्न सक्ने पौरखी जनशक्ति नै मानव संसाधन हो ।
आर्थिक समृद्धि कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । वास्तवमा मानवको साझा उद्देश्य आर्थिक समृद्धि नै हो । आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ ? के–कस्ता चिजहरूले आर्थिक समृद्धिको गति निर्धारण गर्छ ? आफैंमा दार्शनिक प्रश्न हो । अथवा धेरै चिजको तारतम्यमा मात्र आर्थिक स्तरोन्नतिको मूल फुट्न सक्छ । मुलुुकको भौैगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, शान्ति, सुरक्षाको स्थिति, ऐन, नियमको परिपालना, कोभिडजस्ता संक्रामक रोगव्याधि आदि आर्थिक समृद्धिका निर्धारक तत्वहरू हुन् । मूलतः तपसिलका तत्वहरूले आर्थिक समृद्धिको निर्धारण गर्छ :
राजनीतिक स्थायित्वः आर्थिक समृद्धिको प्रथम आयाम हो । कुनै सरकार पूरापूर आयु बाँच्नु वा कुनै शासन व्यवस्था लामो समयसम्म चलिरहनु नै राजनीतिक स्थायित्व हो । राजनीतिक स्थायित्व कायम हुनु भनेको नीतिगत स्थायित्व कायम हुनु पनि हो । राजनीतिक स्थायित्व कायम हुनु भनेको सरकारले अगाडि सारेको नीति, योजना र कार्यक्रमले दीर्घजीवन प्राप्त गर्नु हो । राजनीतिक स्थायित्वको अभावमा न त सरकारले आफ्नो कार्य क्षमता प्रस्तुत गर्न सक्छ, न त लगानीकर्ताहरू नै आकर्षित हुन्छन् । नेपालमा आर्थिक समृद्धि भित्र्याउन नसक्नुको मूल कारण पनि राजनीतिक अस्थिरता नै हो । किनकि प्रजातन्त्र प्राप्तिपश्चात् कुनै पनि सरकार तीन वर्ष नटिकी ढलेको मात्र छैन, प्रजातन्त्र प्राप्तिको २६ वर्षे अवधिमा २५ पटक कार्यकारी प्रमुख परिवर्तन भएका छन् । सोही कारण हामी आर्थिक रूपमा पछि परेका हौं ।
सुशासनः आर्थिक समृद्धिको दोस्रो आयाम हो । विधि, पद्धति, प्रणाली र अनुशासनअनुरूप मुलुक चल्नु, ऐन–कानुन हुबहु लागू हुनु, भ्रष्टाचार निरुत्साहित हुनु नै सुशासन हो । जुन मुलुकमा सुशासन कायम हुन्छ, त्यस मुलुकमा आन्तरिक तथा बाह्य लगानीकर्ता आकर्षित हुन्छन् । लगानीकर्ता आकर्षित हुँदा उत्पादन, रोजगारी र राजस्वमा बढावा मिल्छ । सुशासन कायम नहुनु भनेको भ्रष्टाचारले डेरा जमाउनु हो । विकास निर्माण कार्यमा मोलाहिजा हुनु हो । गुणस्तरहीन कार्यले प्रश्रय पाउनु हो । तर, हामी सुशासनमा निकै कमजोर छौं । उक्त तथ्य भ्रष्टाचार नियाल्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो सर्वेक्षण प्रतिवेदनबाट प्रस्टै हुन्छ । हाम्रो आर्थिक अवस्था नाजुक बन्नुको कारण कुशासन नै हो ।
वैज्ञानिक आर्थिक योजनाः आर्थिक समृद्धिको तेस्रो आयाम हो । मुलुकको दीर्घकालीन समृद्धिका लागि बुनिएको सपना नै आर्थिक योजना हो । यसै पनि दूरदृष्टि योजनाबिना आर्थिक विकास असम्भव कुरा हो । आर्थिक समृद्धिका निमित्त कृषि, जलविद्युत्, पर्यटन, आधारभूत उद्योग, पूर्वाधार, जनशक्ति विकासजस्ता अर्थतन्त्रका आधारभूत क्षेत्रमा के–कस्ता नीति, योजना र कार्यक्रम तय गर्ने ? ती क्षेत्र उठानका निमित्त के–कस्ता कार्यनीति, रणनीति अंगीकार गर्ने, सुशासन कसरी व्यवस्थापन गर्ने ? आर्थिक योजनामा प्रस्ट चित्र झल्कनुपर्छ । आर्थिक योजनामा सरकारको भूमिका, सरकारबाट उपलब्ध गराइने सेवा–सुविधा, ऐन, कानुन, शान्ति–सुरक्षा, बैंक तथा वित्तीय संस्थाहरूको अवस्था के–कस्तो हुने प्रस्ट खुल्नुपर्छ । राज्यले सन् २०२२ मा विकासशील मुलुक र सन् २०३० सम्म मध्यम आययुक्त मुलुकको दाँजोमा स्तरोन्नति गर्ने लक्ष्य तय गरेको छ । जबकि उक्त अवस्थामा स्तरोन्नति हुन वार्षिक औसत ८ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्छ । यता पछिल्लो एक दशकमा हाम्रो औसत आर्थिक वृद्धिदर ५–६ प्रतिशत मात्र रहेको छ । उक्त तथ्यबाट हामीले अगाडि सारेका आर्थिक योजनाको लक्ष्य चुम्नु कम्ती चुनौतीपूर्ण छैन भन्ने कुरा पुष्टि हुन्छ । हामीले आर्थिक समृद्धि हासिल गर्न नसक्नुको एउटा कारण यो पनि हो । ।
मानव संसाधनको उपयुक्त परिचालनः आर्थिक समृद्धिको चौथो आयाम हो । आर्थिक समृद्धिमा काँध थाप्न सक्ने, मुलुकको समष्टिगत उत्पादन र उत्पादकत्व फराकिलो पार्न सक्ने पौरखी जनशक्ति नै मानव संसाधन हो । मानव संसाधन आर्थिक समृद्धिको जीवन्त साधन पनि हो । पुँजी र प्राकृतिक साधन उत्पादन कार्यमा लगाउनका लागि मानव संसाधन सुचालक हो । मानवीय साधनको गुणस्तर, आकार, कार्यक्षमता, संरचना, वृद्धिदर आर्थिक विकासको गति निर्धारक हो । जुन मुलुकले मेहनति, सिर्जनशील, धैर्यवान्, कटिबद्ध र साहसी मानव संसाधन पैदा गर्न सक्छ, त्यस्तो मुलुक अगाडि बढ्न समय लाग्दैन । दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, ताइवान, सिंगापुर निर्माणका निमित्त त्यहाँको जनशक्तिको अहम् हात रहेको छ । ती मुलुकले शिक्षामा ठूलो लगानी गरेका थिए । देशबाहिर सीप आर्जनका लागि पठाएका थिए । सीपयुक्त जनशक्तिबिना आर्थिक समृद्धि असम्भव कुरा हो ।
भौतिक पूर्वाधार क्षेत्रको विकासः आर्थिक समृद्धिको पाँचौं आयाम हो । आर्थिक समृद्धिका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधार अर्थात् बाटोघाटो, रणनीतिक सडक, रेल्वे, पुलपुलेसा, सुक्खा बन्दरगाह, बिजुली बत्ती, टेलिफोन, हवाई मैदान, ठूला सिँचाइ आयोजना नै भौतिक पूर्वाधार हो । पूर्वाधार मजबुत हुनु भनेको उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय मौलाउने वातावरण सिर्जना हुनु हो । पूर्वाधार मजबुत हुनु भनेको उत्पादित वस्तु तथा सेवा लागत कटौती हुनु हो । वस्तु तथा सेवाको लागत न्युन हुनु भनेको प्रतिस्पर्धात्मक क्षमता अब्बल बन्नु हो । प्रतिस्पर्धात्मक क्षमता मजबुत हुनु भनेको रोजगारी सिर्जना, राजस्व आर्जन, बचत तथा लगानीमा टेवा मिल्नु हो । तर, नेपालमा भौतिक पूर्वाधारको अवस्था निकै नाजुक छ । भौतिक पूर्वाधारका आयोजनाहरू समयमा पूरा हुन सकेका छैनन् । अगाडि सारिएका २१ थान राष्ट्रिय गौरव कार्य प्रगति निराशाजनक छ । हाम्रो आर्थिक हैसियत सुधार हुन नसक्नुको अर्को कारण हो, यो ।
वैज्ञानिक कर प्रणालीः आर्थिक समृद्धिको छैठौं आयाम हो । राज्य सञ्चालनका निमित्त गरिने अनिवार्य दान नै कर हो । आर्थिक समृद्धिका लागि कर प्रणाली, करको दर, करको आयातन महत्वपूर्ण कुरा हो । तर, हामीले कर प्रणाली अझै सुधार गर्न सकेका छैनौं । अप्रत्यक्ष करको हिस्सा थोरै छ । कर मूलतः आयातमुखी दर्राको छ । कर चुहावटको मात्रा अधिक छ । आयबापत कर तिर्न रुचाइँदैन । त्यसो त करको औचित्यता, उपादेयता र महत्व बुुझाउन नसक्दा करदाता कर भुक्तानीका निमित्त उदासीन बनेका हुन् । आर्थिक समृद्धि हात लाग्न नसक्नुको अर्को कडी हो, यो ।
उपयुक्त आर्थिक संगठनः आर्थिक समृद्धिको सातौं आयाम हो । मुलुकको अर्थव्यवस्था सञ्चालन गर्ने निकायहरूको समुच्च स्वरूप नै आर्थिक संगठन हो । आर्थिक समृद्धिको खातिर आर्थिक प्रणाली, अर्थनीति, विकाससम्बन्धी मन्त्रालयहरू, सार्वजनिक वित्त, सुशासन कायम गर्ने निकायहरूको भूमिका अहम् हुन्छ । नेपालजस्तो अल्पविकसित मुलुकमा आर्थिक संगठन मूलतः परम्परागत ढर्राका हुन्छन् । वित्तीय अनुशासनको अभाव हुन्छ । प्रक्रियामुखी हुन्छ । भनसुन, मोलाहिजा र अर्थवादले डेरा जमाएको हुन्छ । हाम्रो आर्थिक समृद्धि छायाँमा पर्नुका पछाडि अवैज्ञानिक आर्थिक संगठनको त्यत्तिकै हात छ ।
उद्यमशीलताः आर्थिक समृद्धिको आठौं आयाम हो । नयाँ–नयाँ उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय फर्काउनु नै उद्यमशीलता हो । उद्यमशीलताबिना औद्योगिक विकास हुन सक्दैन । तथापि उद्यमशीलता मौलाउनका निमित्त लगानीकर्ताको लगानीको सुरक्षा, लगानीकर्ताको जीउधनको सुरक्षा, लगानीकर्ताको सम्पत्तिको सुरक्षा प्रत्याभूत अपरिहार्य कुरा हो । भुल्नै नहुने कुरा, उद्यमशीलता अंकुरण हुन नसक्दा नेपाल गरिबीको आहालमा हेलिनुपरेको हो ।
पुँजी निर्माणः आर्थिक समृद्धिको नवौं आयाम हो । लगानीयोग्य धनको बढावा नै पुँजी निर्माण हो । यसै पनि पुँजी आर्थिक विकासको सुचालक पनि हो । साधनको उचित उपयोग, उपभोग कटौती, अनिवार्य बचत, घाटा बजेट, सार्वजनिक ऋण संकलन, वैदेशिक ऋण तथा अनुदान प्राप्ति पुँजी निर्माणका विधिहरू हुन् । तर, पुँजी निर्माण गर्न हामी चुक्दा आर्थिक समृद्धि हाम्रो लागि असम्भवजस्तै भएको हो ।
प्राकृतिक साधनको उपयोगः आर्थिक समृद्धिको दशौँ आयाम हो । सृष्टिकालदेखि प्रकृतिले निःशुल्क रूपमा उपलब्ध गराएको जल, जमिन, जंगल, जडीबुटी, जलवायु, खनिजलगायतका प्रकृतिका उपहार नै प्राकृतिक साधन हुन् । कुनै पनि मुलुकलाई प्रकृतिले कुनै न कुनै साधन उपहारस्वरूप सुम्पिएको पाइन्छ । तथापि प्राकृतिका साधनको उपलब्धताबाट मात्र कुनै मुलुक आपसेआप समृद्ध भइहाल्दैन । किनकि प्राकृतिक साधन स्वयं सक्रिय साधन होइन । पुँजी, प्रविधि, उद्यमशीलता, इच्छाशक्ति र कटिबद्धता आवश्यक हुन्छ । प्राकृतिक स्रोतसाधनको यथोचित उपयोग गर्न नसक्दा हामी आर्थिक रूपमा पिछडिएका हौं ।