Logo

पनौतीको १२ वर्षे मकर मेला

हाम्रो देश नेपाल धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । अनगिन्ती धार्मिक मठ–मन्दिरहरूले भरिपूर्ण हाम्रो देश नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले विश्वमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यहाँ बर्सेनि विभिन्न समयमा धार्मिक पूजाआजादेखि धेरै ठूलाठूला मेलाहरू पनि लाग्ने गर्छ । माघ शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रत कथाको शुभारम्भ भएसँगै काठमाडौंको साँखुस्थित शालीनदीमा पनि एक महिनासम्म व्रतालु धर्मावलम्बीहरूको मेला लाग्ने गर्छ । शालीनदीमा स्नान गर्नाले सम्पूर्ण पाप पखालेर जाने धार्मिक विश्वास पनि रहिआएको छ । यहाँ माघ महिनाभरि मेला लाग्ने गर्छ । त्यसैले यहाँ मुलुकको विभिन्न ठाउँबाट बर्सेनि तीर्थयात्रीहरू आउने गर्छन् ।
त्यसैगरी काभ्रे जिल्लाको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला पनि धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण तीर्थ धामका रूपमा परिचित हुँदै आएको छ । यो यस्तो मेला हो, जुन १२ वर्षमा मात्र लाग्ने गर्छ । १२ वर्षमा एकपटक मात्र लाग्ने हुनाले पनि यसलाई १२ वर्षे मकर कुम्भ मेला पनि भन्ने गरिन्छ । यस १२ वर्षे मकर मेलाले पनि आफ्नो छुट्टै धार्मिक महत्व बोकेको छ । यहाँ मुलुकका धेरै ठाउँबाट भक्तजनहरू आई पूजापाठ, स्नानलगायत धार्मिक क्रियाकलापहरू गर्ने गर्छन् । यो मेला पनि एक महिनासम्म लाग्ने मेला हो ।
म आफैं पनि गत शनिबार १२ वर्षे मकर मेलामा सहभागी भएको थिएँ । काठमाडौंबाट भक्तपुर सल्लाघारी, पलाँसे, साँगा भन्ज्याङ हुँदै काभे्रको बनेपाबाट दक्षिणतर्फ करिब १० किलोमिटरको दूरीमा पनौती बजार आइपुग्छ । त्यसैको ठीक पूर्वपट्टी खोचमा तीन नदीको संगम त्रिवेणीघाट छ । यसै त्रिवेणीघाटनजिकै इन्द्रेश्वर महादेवको मन्दिर पनि छ । प्राचीन कालमा यस ठाउँमा इन्द्र भगवान्ले पाइला टेकेको भन्ने धार्मिक विश्वास रहेको हुनाले यो मन्दिरलाई इन्द्रेश्वरको मन्दिर भनिएको हो । त्रिवेणीमा स्नान गरी पूजाआजा गर्नाले आफ्नो मनोकांक्षा पूरा हुनुका साथै पुण्य पनि मिल्ने हुनाले धेरै भक्तजनहरु यहाँ आउने गर्छन् । अर्को कुरा, यो पनौती पुरातात्विक नगरीको रूपमा पनि परिचित छ । यहाँ पुराना शैलीका बजार र पौराणिक घरहरू तथा धेरै धार्मिक तथा ऐतिहासिक पुरातात्विक वस्तुहरूले पनि भरिपूर्ण छ ।
पनौती नगरपालिका, वडा नं. ७ स्थित यो त्रिवेणीधाममा लाग्ने १२ वर्षे मकर मेला छुटाउनै नहुने विशेष प्रकारको धार्मिक मेला हो । प्राकृतिक रूपमा पनौतीको आफ्नै विशेषता पनि रहेको छ ।
किंवदन्तीअनुसार ठूलो चट्टानमाथि रहेको पनौती बजार भूकम्प जाँदा पनि त्यति क्षति नहुने ठाउँ हो । धार्मिक किंवदन्तीअनुसार लिच्छविकालीन राजा मानदेवको पालाभन्दा पहिल्यै लक्ष्मणलाई बचाउन हनुमानले बुटी ल्याउँदा यसै नदीमा खसेको धार्मिक ग्रन्थ र पुस्तकहरूमा पनि उल्लेख भएको हुनाले यस बाह्रवर्षे मेलाको छुट्टै विशेषता रहेको छ । त्यसैले यहाँ लाग्ने मकर मेलालाई स्थानीय सरकारले पनि बढी संवेदनशील भएर कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा अपनाएर दर्शनार्थीहरूलाई सहज तरिकाले दर्शन गर्ने प्रबन्ध मिलाएको छ । भक्तजनहरूले सबैले मास्क लगाएका थिए । तर, कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण गत शनिबार भने आंशिक मात्रामा मात्र भक्तजनहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्