Logo

६ महिनामा चार लाख करदाता थपिए


चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा करको दायरामा उल्लेख्य वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा पुस मसान्तसम्ममा ४ लाखको हाराहारीमा करदाता थपिएका हुन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म ४४ लाख ३८ हजार व्यक्ति तथा संस्था करको दायरामा रहेकोमा चालू वर्षको पहिलो ६ महिनामा बढेर ४८ लाख ३७ हजार पुगेको छ । यसरी वृद्धि भएको संख्यामा सबैभन्दा धेरै व्यक्तिगत प्यान दर्ता गर्ने करदाता छन् । पछिल्लो ६ महिनामा मात्र व्यक्तिगत स्थायी लेखा नम्बर प्राप्त गर्नेहरुको संख्यामा २ लाख २८ हजारले वृद्धि भएको छ । यससँगै पुस मसान्तसम्म व्यक्तिगत लेखा नम्बर प्राप्त गर्नेको संख्या बढेर २७ लाख ३ हजार पुगेको छ ।
साथै व्यावसायिक स्थायी लेखा नम्बर प्राप्त गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । यससँगै असार मसान्तसम्ममा १५ लाख ७९ हजारले लिएको व्यावसायिक लेखा नम्बर पुस मसान्तसम्ममा १ लाख २२ हजारले बढेर १७ लाख पुगेको छ । अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर प्राप्त गर्ने संख्या भने झण्डै ३ हजारले बढेर १३ हजारको हाराहारीमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो ६ महिनामा मूल्य अभिवृद्धि कर दर्ता गर्नेको संख्या पनि ३६ हजारले बढेको छ । यससँगै सोेको संख्या ३ लाख ६ हजार पुगेको छ । साथै अन्तःशुल्कमा दर्ता हुनेको संख्यामा भने ८ हजार ४ सयले वृद्धि भएर १ लाख १२ हजार ५ सय ८९ पुगेको छ ।
आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले संख्याको हिसाबले पछिल्लो समय करको दायरा विस्तार भइरहेको बताए । “अहिले अनिवार्य रुपमा कर कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था पनि गरिएको छ । त्यसैले गर्दा पनि बर्सेनि लाखौंको संख्यामा करदाताहरु करको दायराभित्र आइरहेका छन्,” उनले भने । करमा दर्ता हुनु नै करदाताको पहिचान हुनु भएको भन्दै सबै करको दायरामा आउनुपर्ने उनले बताए । करदाताको संख्या बढेसँगै पछिल्लो समय राजस्व संकलन पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्