Logo

आन्तरिक हवाई यात्रुका लागि नयाँ आगमन भवन

आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले आइतबार बोलपत्र आह्वान गर्दै नयाँ टर्मिनल भवनको लागि आवेदन दिने बोलपत्रदातालाई आर्थिक प्रस्ताव आह्वान गरेको हो ।
आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । करिब साढे ७ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको र वास्तविक लागत भने आर्थिक प्रस्ताव पेस गरेपछि तय हुने सिटौलाले बताएका छन् ।
सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर (दुईतर्फी ब्याग लिन मिल्ने) बेल्ट हुनेछ ।
पछिल्लो समयमा थपिँदै गएको आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल विकास गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । सन् २०२१ मा आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएर ३५ लाख पुगेको थियो ।
कोभिड–१९ पछि हवाई यात्रा सुरक्षित रहेकाले गर्दा पनि धेरै यात्रुले हवाई यात्रा गरेको र त्यसपछि हवाई यात्रा सहज भएकाले गर्दा पनि यात्रुमा हवाई यात्राको आकर्षण बढेर जाँदा पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको विमान कम्पनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्