आईएसपीबाट ६ महिनामा साढे तीन अर्ब रोयल्टी «

आईएसपीबाट ६ महिनामा साढे तीन अर्ब रोयल्टी

इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) बाट चालू आर्थिक वर्ष २०७८-०७९ को ६ महिनामा तीन अर्ब ४६ करोड ४६ लाख ४६ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुस मसान्तसम्म आईएसपीहरूबाट साढे तीन अर्ब रोयल्टी संकलन भएको जनाएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनीले आम्दानीको चार प्रतिशत रोयल्टीवापत सरकारलाई बुझाउनुपर्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मुलुकमा ५१ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यी कम्पनीले गत आर्थिक वर्षमा तीन अर्ब ५३ करोड १२ लाख रुपैयाँ रोयल्टी बुझाएका थिए । यसरी गत आर्थिक वर्षमा संकलन भएको रकमकै हाराहारीमा यस वर्षको पहिलो ६ महिनामै रोयल्टी संकलन भएको छ । कोभिड महामारीका कारण इन्टरनेट सेवाको बजार विस्तार भएसँगै सेवा प्रदायक कम्पनीहरूको आम्दानी वृद्धिले सरकारको राजस्व पनि बढाएको हो । कोभिडले अनलाइन प्याटफर्म, अनलाइन बिजनेस तथा इन्टरनेटको उच्चतम प्रयोग भएकाले व्यवसाय बढाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार पुस मसान्तसम्म मन्त्रालयले कुल तीन अर्ब ५४ करोड ५० लाख २३ हजार रुपैयाँ बराबरको राजस्व असुल गरेको छ । जसमा तीन अर्ब ४६ करोड ४६ लाख ४६ हजार रुपैयाँ विभिन्न इन्टरनेट सेवा प्रदायकबाट आर्थिक वर्ष २०७७-०७८ को रोयल्टीवापत असुल भएको रकम रहेको मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले जानकारी दिए । सिंहका अनुसार यस वर्ष इन्टरनेट सेवाको विस्तारमा आएको बढोत्तरीका कारण सरकारी राजस्वमा पनि वृद्धि भएको हो ।
प्राधिकरणको एमआईएस रिपोर्टअनुसार हाल देशभर तीन करोड ५३ लाख ४३ हजार इन्टरनेट सेवाग्राही रहेकोमा फिक्स्ड ब्रोडब्यान्ड सेवा लिनेको संख्या ८० लाख ७८ हजार ५ सय ७७ रहेको छ । जसमध्ये आईएसपीका सेवाग्राही ७३ लाख ३८ हजार ३ सय ९८ रहेको छ । यस्तै, नेपाल टेलिकमका एफटीटीएच ग्राहक संख्या सात लाख ४० हजार १ सय ७९ रहेको छ । टेलिकमले पछिल्लो समय एफटीटीएच सेवा विस्तारलाई बढी ध्यान दिएको छ । भ्वाइसबाट भन्दा इन्टरनेट सेवामा आफ्नो भविष्य रहेको जनाउँदै कम्पनीले इन्टरनेट सेवामा आफ्नो लगानी तथा मानवसाधनलाई परिचालन गरेको छ ।
साढे १४ लाख डलर विदेशी मुद्रा सिफारिस
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको श्रव्यदृष्य तथा प्रसाारण शाखाले पुस मसान्तसम्म १४ लाख ४९ हजार १ सय ३९ डलर बराबरको विदेशी मुद्रा सिफारिस गरिएको जनाएको छ । जसअनुसार भारतीय रुपैयाँ १० करोड ९७ लाख ६५ हजार बराबरको मुद्रा सटही सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ । यसमा कात्तिकमा ७६ हजार ९ सय १० डलर, मंसिरमा ६४ हजार ४ सय ७५ डलर तथा पुसमा १३ लाख ७ हजार ६ सय ८४ डलर रहेको छ । भारतीय रुपैयाँतर्फ कात्तिकमा एक करोड २० लाख ४८ हजार, मंसिरमा एक करोड ९५ लाख १५ हजार तथा पुसमा सात करोड ८१ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्