सर्वमान्य सिद्धान्त, मूल्य र मान्यताअनुसार सहकारीहरूलाई अघि बढ्न र बढाउन सहकारी विकास बोर्डको भूमिका महत्वपूर्ण छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यताअनुसार सहकारीहरूलाई अगाडि बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त हुनु भएका मित्रराज दवाडीलाई नियुक्तिपत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुनर्जीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नु पर्ने बताए ।
सहकारी बोर्डको अध्यक्षसमेत रहेको मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्बे नीतिअनुरूप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौती र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याउदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टि गर्नु आवश्यक रहेको बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।