भारतमा बनेको निसान म्याग्नाइट १५ देशमा निर्यात

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमासमेत उपलब्ध छ ।
निसान म्याग्नाइट ‘मेक इन इन्डिया, मेक फर द वल्र्ड’ नाराका साथ भारतमै उत्पादन गरिएको हो । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ ।
त्यसैगरी एक वर्षकै अवधिमा यसले वृहत सफलता समेत हासिल गरेको छ । तमिलनाडुस्थित निसानको चेन्नाई प्लान्टमा उत्पादन गरिएको निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो । त्यसपछि भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेका छन् भने ६ हजार ३४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको छ ।
निसान ‘नेक्स्ट’ ट्रान्सफरमेसन अन्तर्गत लन्च गरिएको निसान म्याग्नाइट पहिलो ग्लोबल प्रोडक्ट थियो । यसले व्यवसाय र ग्राहकलाई लक्षित गरी हाई–डिमान्ड प्रोडक्टमा कम्पनीको ध्यान केन्द्रीत गर्ने नीतिलाई भित्र्याएको थियो ।
लन्चिङ पश्चात चेन्नाई प्लान्टबाट ४२ हजार भन्दा बढी म्याग्नाइट उत्पादन भएको कम्पनीले जनाएको छ । कोभिड प्यान्डेमिक र सेमी कन्डक्टर अभावको समयमा पनि यति धेरै उपलब्धि हासिल गर्नु निसानका लागि महत्वपूर्ण छ । यही उपलब्धिका लागि निसान इन्डिया अपरेसनले कम्पनीको ग्लोबल प्रेसिडेन्ट्स अवार्ड प्राप्त गर्न सफल भएको छ ।
भारतलगायतका विश्वका विभिन्न क्षेत्रका लागि निसान अध्यक्ष गुइलम कार्टियरले म्याग्नाइट एक फरक क्षमताको कार भएको र यसको इन्जिनियरिङका साथै बलियोपना र विशेषज्ञताका कारण आगामी दिनमा विश्वका धेरै बजारले यसको अनुभव लिन सक्ने कुरामा उत्साहित भएको बताए । यो निसानको इननोभेटिभ एप्रोचको एक उदाहरण भएको उनको भनाइ छ । निसान म्याग्नाइटले बीबीसी टप गियर इन्डिया, कार एन्ड बाइक तथा अटोकार इन्डियालगायतका विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेको छ । त्यसैगरी हालै यो ‘द रेस मङ्की कार अफ द इयर २०२१’ समेत नामांकित भएको छ ।
निसान मोटर इन्डिया प्रालिले निसान मोटर कम्पनी लिमिटेड, जापानको शतप्रतिशत सहायक कम्पनीको रुपमा कार्य गरिरहेको छ । सन् २००५ मा स्थापना भएको कम्पनीले भारतमा ह्याचब्याक, एसयूभी र सेडान सेगमेन्टका अभिनव र रोमान्चक उत्पादनहरु उपलब्ध गराइरहेको छ । ग्लोबल एलाइन्स पार्टनर रेनोसँगको सहकार्यमा निसानले चेन्नाईमा म्यानुफ्याक्चरिङ प्लान्ट तथा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ । निसान अन्तर्गत भारतमा दुई ब्रान्ड निसान र ड्याटसन उपलब्ध छन् ।