अभियान लघुवित्तको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अभियान लघुवित्त वित्तीय संस्थाले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले निकट भविष्यमा एक सय रुपैयाँका दरले अंकित ९ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्न मुक्तिनाथलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा लघुवित्तका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल लघुवित्तको अधिकृत पुँजी ३० करोड, जारी पुँजी २५ करोड, र चुक्ता पुँजी १५ करोड २५ लाख रहेको कम्पनीले जनाएको छ । यस्तै सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्तापुँजी २५ करोड हुने बताइएको छ ।
काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालयमार्फत २४,८८३ जना विपन्न महिलालाई समूहमा आबद्घ गरी २४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा एक अर्ब ९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ । यसैगरी आव.२०७७-०७८ को असार मसान्तसम्ममा एक करोड ७७ लाख खूद मुनाफामा गरेको बताइएको छ । यस्तै चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधिसम्ममा एक करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको बताइएको छ ।