Logo

सुन्दरबजार नगरपालिकाको सेवा नयाँ भवनबाट

लमजुङ-संघीयता कार्यान्वयन भई स्थानीय तह गठन भएको पाँच वर्ष पुग्नै लाग्दा लमजुङका पाँचवटा स्थानीय तहले मात्रै नयाँ प्रशासकीय भवन निर्माण गरेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिका, राईनास नगरपालिका, मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र क्होलासोँथार गाउँपालिकाले मात्रै नयाँ प्रशासकीय भवन निर्माण गरेका हुन् ।
पाँचवटा स्थानीय तहले प्रशासकीय भवन निर्माण शुरु गरे पनि हालसम्म एउटा मात्रै स्थानीय तहले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह शुरु गरेको छ भने अन्य चारवटा निर्माणाधीन अवस्थामा रहेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिकाले मात्रै निर्माण सम्पन्न गरी नयाँ भवनबाट सेवा प्रवाह शुरु गरेको हो ।
राईनास नगरपालिकाले भने भवन निर्माण अन्तिम चरणमा रहेको जनाएको छ । अब केही महिनामै नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गर्ने भनिए पनि वर्तमान जनप्रतिनिधिको समयावधिमा भवन निर्माण सम्पन्न हुन मुस्किल छ । जिल्लाको मध्यनेपाल नगरपालिकाले चालू आर्थिक वर्षबाट मात्रै भवन निर्माणको काम सुरु गरेको छ । आफ्नै भवन नहुँदा सुरुदेखि नै नगरपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । साविक गाविसको भवनसमेत नरहेको भोर्लेटारमा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपर्दा आर्थिक व्ययभार बढेको नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए ।
जिल्लाको विकट दूधपोखरी र क्होलासोँथार गाउँपालिकाले पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । आगामी असारसम्म भवन निर्माणको काम सम्पन्न हुने दूधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले बताए । क्होलासोँथार गाउँपालिकाले भने भवन निर्माणको काम सम्पन्न भइसक्नुपर्नेमा कोभिड प्रभाव र निर्माण व्यवसायीको लापरबाहीले ढिलाइ भएको जनाएको छ ।
जिल्लाका केही स्थानीय तह साविक गाविस रहेका भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने कतिले घर भाडामा लिएर कार्यसम्पादन गर्दै आएका छन् । पुरानो भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या भएपछि स्थानीय तहका विषयगत शाखा र अन्य प्रशासकीय कामका लागि कोठा कोठा भाडामा लिनुपरेको स्थानीय तहले जनाएका छन् ।
स्थानीय तहको भवन र पर्याप्त कोठा नहुँदा सेवा प्रवाहमा समेत समस्या भएपछि भवन निर्माणको काम प्रारम्भ गरेका हुन् । यसअघि गाविसको सेवा प्रवाह र हाल पालिकाबाट हुने सेवा प्रवाह निकै फरक रहेकाले सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरूले बताउँदै आएका छन् ।
जिल्लाको सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकाले झण्डै दुई वर्ष भाडाको घरबाट कार्यालय सञ्चालन गरेको थियो । नगरपालिकाले हाल जिल्ला नापी कार्यालयको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । नापी कार्यालयको भवन प्रयोग गरे पनि अझै ठाउँ अभाव भएको नगरपालिकाले जनाएको छ ।
यस्तै दोर्दी गाउँपालिकाले पनि पुराना भवनलाई प्रयोग गरेर कार्यसम्पादन गर्दै आएको छ । यद्यपि दोर्दी गाउँपालिकाभित्रका विषयगत कार्यालय एकै ठाउँमा हुँदा केही सहज भए पनि गाउँपालिका अन्तर्गतका सवै खाले सेवा प्रवाहका लागि पर्याप्त नभएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहमा प्रशासकीय भवन र विषयगत शाखाहरूका निम्ती पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रदायक र सेवाग्राही सबैलाई समस्या हुने गरेको छ । एक पटक भवन निर्माण गरेपछि वर्षौंसम्मलाई सहज हुने भएकाले स्थानीय तहहरूले सुरुको वर्ष नै प्रशासकीय भवन निर्माणमा प्राथमिकता दिनुपर्ने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्