अख्तियारले जथाभावी मुद्दा चलाउन पाउँदैन : सभापति शाह

भैरहवा-सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई मन लागेको मुद्दा मात्र चलाउने गरेको आरोप लगाएका छन् ।
आइतबार भैरहवामा भएको अन्तरक्रियामा उनले समितिले छानबिन गरेर मुद्दा चलाउने अख्तियारलाई निर्देशन दिने गरेपनि अख्तियारले सीमितविरुद्ध मात्र मुद्दा चलाउने गरेको दावी गरे । अख्तियारले आफूलाई मन लागे अनुसार मुद्दा चलाउने र नचलाउने गर्दा ठिक नभएको उनको भनाइ छ ।
“हामीले पठाएको वन सम्बन्धि मुद्दा अख्तियारले चलाइदियो तर वाईडबडीको चलाएन” उनले भने, “समितिले धेरै छानविन गरे पठाएको छ, कुनै न कुनै त्रुटी नभई समितिले कारवाहीको सिफारिस गर्दैन, त अख्तियारले सीमतिलाई मात्र मुद्दा चलाउँछ ।”
सभापति शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय चुनढुंगा उत्खननका विषयमा अनुसन्धान गरी दायर गरेको भ्रष्टाचार मुद्दामा कानुन अनुसार दोषी भए जो कोही कारबाहीको भागेदारी बन्नु पर्ने बताउँदै बिगतमा जस्तो सामान्य जरिबानाबाट उम्किन नसक्ने बताए ।
पूर्व अर्थराज्य मन्त्री समेत रहेका शाहले देशमा आर्थिक संकट नआउने बताए । “आर्थिक क्षेत्रमा तरलता अभावका बिषयमा हामीले नेपाल राष्ट्र बैंकका अधिकारीलाई लेखा समितिमा बोलाएर बुझेका थियौं” उनले भने, “अहिले जुन आर्थिक मन्दिको अवस्था छ त्यो फागुन-चैतभित्रै हल हुन्छ ।” नेपालमा राजस्व संकलनको दर राम्रो रहेको र लक्ष्य अनुसारनै संकलन भइरहेकोले श्रीलंका जस्तो अवस्था नआउने उनले दाबी गरे ।
सभापति शाहले उद्योगहरुको विद्युत महशुल भुक्तानी बक्यौता मिनाहा हुन नसक्ने बताए । उनले लोडसेडिङगको बेलामा १७-१८ घन्टा विद्युत उपभोग गर्ने उद्योगहरुले ट्रंकलाइन विद्युत प्रयोग गरेनन् भन्न नमिल्ने भन्दै त्यस्ता उद्योगले विद्युत महशुल बुझाउनै पर्ने बताए ।
बेलहिया भैरहवा बुटवल मार्ग निर्माण अहिलेसम्म सम्पन्न नभएको र भैरहवा तौलिहवा सडक गुणस्तरहिनका विषयमा लेखा समितिले छानविन गर्ने पनि उनले बताए ।