Logo

भैरहवा सेजमा ऐनविपरीत उद्योग सञ्चालन गर्दै शक्ति मिनरल्स

भैरहवा-विशेष आर्थिक क्षेत्र ऐनअनुसार भैरहवा सेजमा स्थापित उद्योग शक्ति मिनरल्स प्रालिले भारत तथा तेश्रो मुलुकमा निर्यात गर्नु पर्नेमा विभिन्न बहाना देखाउँदै स्वदेशमै आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ ।
विशेष आर्थिक क्षेत्र ऐनमा उद्योग स्थापना भएको पहिलो वर्ष सबै उत्पादन स्वदेशमै बिक्री गर्न पाउने तर त्यसपछि दोश्रो वर्षबाट भने उत्पादनको ६० प्रतिशत भारत वा तेश्रो मुलुक निर्यात गर्नुपर्ने तथा ४० प्रतिशत मात्रै स्वदेशमा बिक्री गर्न पाइने उल्लेख छ ।
तर शक्ति मिनरल्सले भने कोरोना भाइरस, भन्सारमा ढिला सुस्ती, ढुवानी ट्रक अभावलगायतका बिभिन्न बहाना बनाउँदै न्यून मात्रामा निर्यात गरेको पाइएको छ ।
भैरहवा सेजमा २०७६ साल साउन ४ गते सुरु भएको यो उद्योगले आर्थिक वर्ष २०७६-०७७ मा २३.८४ प्रतिशत, २०७७-०७८ मा २.५६ प्रतिशत र चालु आर्थिक वर्षको ६ महिनामा ११.५१ प्रतिशत मात्रै निर्यात गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डीका भट्टले बताए ।
सेज ऐन विपरीत निर्यात न्यून गरी स्वदेशी बजारमा बिक्री गरेपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले ऐन अनुसार निर्यात गर्न भन्दै मंसिर १४ गते उद्योग बन्द गर्न पत्र पठाएको थियो । उद्योग व्यवस्थापनले विशेष आर्थिक क्षेत्र प्राधिकरणविरुद्ध मंसिर २१ गते उच्च अदालत तुलसीपुर दांगमा मुद्दा हालेको थियो । अदालतको मंसिर २२ गते बसेको इजलासले परमादेश जारी गर्दै यथावत र पूर्ववत अनुसारनै उद्योग सञ्चालन गर्न दिनु भन्ने आदेश पछि अहिले उद्योग सञ्चालनमा छ । तर शक्ति मिनरल्सले भने सेज ऐनको बर्खिलाप गर्दै निर्यातको साटो स्वदेशमै बिक्रीमा जोडबल गर्दै आएको छ ।
“सेज ऐन विपरीत निर्यात भन्दा पनि स्वदेशमै खपत गरेको पाइएपछि पत्र काटेका हौँ , अदालतमा मुद्दा हाल्नु भयो, अहिले अदालतमा मुद्दा छ ।” सेजका कार्यकारी निर्देशक भट्टले भने ।
शक्ति मिनरल्स प्रालिका प्रोजेक्ट म्यानेजर दिपक झाले पहिलो वर्ष सतप्रतिशत स्वदेशमै खपत गर्न पाइने भएपनि २३ प्रतिशत भारत निर्यात गरेको, सोही वर्ष पछि कोरोनाका कारण समस्या उत्पन्न भई निर्यात प्रभावित हुँदै आएको भन्सारमा ढिलाई हुने गरेको, भारतबाट ढुवानीका साधन आउन नमान्नेलगायतका कारणले निर्यात लक्ष्य भन्दा कम भएको दाबी गरे । “भन्सारमा सेम डे डेलिभरी केहिल्यै भएन, जहिले ढिलो हुँदा ढुवानी खर्च समेत थेग्न गाह्रो परेको अवस्था रहयो ।” झाले दाबी गरे ।
सेज कार्यालयले भने भन्सारबाट त्यस्तो कुनै ढिलाई नहुने गरेको सेजको भनेपछि अझ छिटो कार्यसम्पादन हुने गरेको सेजका कर्मचारी निरा भटराईले बताइन् । सेजमा स्थापित अन्य उद्योगहरुले ऐन अनुसार नै अझ बढी निर्यात गर्दा शक्ति मिनरल्सले गर्न नसक्नुको मुख्य कारण उद्योगबाट उत्पादित वस्तुको गुणस्तर न्यून भएको बताइएको छ । न्यून गुणस्तरको उत्पादनका कारण भारतबाट धेरै पटक फिर्ता आएको र भारतमा कम गुणस्तरको सामान भन्दै माग नै नहुने गरेको बुझिएको छ । तर शक्ति मिनरल्सले भने गुुणस्तरीय उत्पादन भैरहेको र ल्याबमा परीक्षण पछि मात्र निर्यात तथा स्वदेशी बजारमा पठाइने गरेको जनाएको छ ।
अहिले अदालतको स्टे अर्डरमा चलिरहेको शक्ति मिनरल्सका कारण अन्य उद्योगहरुले पनि नजिर मान्दै निर्यातमा भन्दा स्वदेशी बजारमा बढी जोड दिए भने सेज ऐन के होला । नेपाल भारतबीच बढ्दै गएको व्यापार घाटा घटाउने उद्देश्य पनि सेजको हो । तर सेजमा स्थापित पहिलो उद्योगले नै सेज ऐनलाई लत्याउँदै आफ्नो शक्ति प्रदर्शन गरी रमिता देखाएको छ । चुनढुंगालाई प्रशोधन गरी कुखुरा, हास तथा अन्य पशु गाईभैंसीले खाने दानामा मिसाउने गरी साना साना टुक्रा (लाइमस्टोन चिप्स) र पाउडर शक्ति मिनरल्समा बन्ने गर्छ । यसका बाइप्रोडक्ट पनि टायल्सलगायतका उद्योगमा पठाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्