सुन्तला बिक्रीबाट चार करोड आम्दानी

म्याग्दी-सुन्तला गाउँको रुपमा परिचित पर्वतको जलजला गाउँपालिका– १ बासखर्क गाउँमा यस वर्ष सुन्तला बिक्रीबाट ४ करोड रुपैयाँ बढी आम्दानी गर्ने भएका छन् ।
गाउँभरी नै सुन्तला लगाएका कृषकले व्यापारी उचित मूल्य दिएर बगैंचामा आएपछि सो बराबरको आम्दानी हुने भएको हो । बाँसखर्कका व्यवसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले साढे २ सय घरधुरीमध्ये २ सय भन्दा बढी घरपरिवारले सुन्तला खेती गरेको बाँसखर्कमा यसपाली चार करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।
“यस वर्ष सुन्तला उत्पादन बढेको छ । मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएपछि कृषकले मलजल, गोडमेल, औंसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गरेपछि यस वर्ष सुन्तला उत्पादन बढेको छ,” खत्रीले भने । बजारमारे सुन्तला सहकारी संस्थामार्फत १४ हजार बिरुवासहित बासखर्कमा २५ हजार भन्दा बढी सुन्तलाका बिरुवा कृषकले लगाएका छन् ।
बजारमारे सुन्तला सहकारी संस्थाका अध्यक्ष रहेका खत्रीले २३ रोपनीमा सुन्तला लगाएका छन् । शिक्षक पेशासँगै व्यावसायिक सुन्तला खेतीबाट उनले यस वर्ष १२ लाखभन्दा बढी आम्दानी गर्ने बताएका छन् । उनले आगामी वर्ष ५० लाख आम्दानी गर्ने लक्षसहित १ हजार ३५० वटा सुन्तलाको बोट लगाएका छन् ।
सडक सुविधाले पोखरा, काठमाडौं, बुटवाल, बेनीलगायतका व्यापारी माघ लाग्ने वित्तिकै बगैंचामै आएका छन् । बासखर्कको सुन्तला खरिद गर्न तनहुँ भानु नगरपालिका–१ की व्यापारी माया थापा बगैंचामै आएकी छिन् । अन्य क्षेत्रका भन्दा बासखर्कका सुन्तला स्वादिलो भएपछि बजारमा बिक्री गर्न सहज हुने उनले बताइन् । सुन्तला उत्पादनका लागि प्रतिकुल हावापानी भएका बासखर्कमा सुन्तला बिक्री भइसकेपछि गोडमेल, मलजल र काँटछाँटमा कृषकले विशेष ध्यान दिन्छन् ।