किवी खेती बढ्यो, उत्पादन घट्यो

दोलखामा किवीको उत्पादन गत वर्षभन्दा घटेको छ । हरेक वर्ष किवी खेती गर्ने किसानको संख्या बढ्दै गए पनि फल उत्पादनमा भने यस वर्ष घटेको तथ्यांक आएको छ । सरकारी तबरबाट प्रोत्साहन दिन थालेपछि किवी खेती गर्ने किसानहरु बढ्दै गएका हुन् ।
खेती गर्ने किसानको संख्या बढेसँगै किवी खेतीको पनि क्षेत्र वृद्धि हुँदै छ । “परम्परागत खेती भन्दा पाखो बाँझो बारीमा खेती गर्न सजिला हुने भएपछि किवीप्रति नयाँ किसान आकर्षित हुँदै छन्” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दोलखाका प्रमुख यामकुमार श्रेष्ठले भने, “पुरानाले पनि खेती विस्तार गर्दै लगेका छन् ।”
पहाडी क्षेत्रको बाँझो जग्गामा सजिलै खेती गर्न सकिने र एक पटक लगाएको बोटले लामो समयसम्म फल दिने भएपछि किसानहरु किवीतर्फ आकर्षित भएका हुन् । किवीका विरुवा लगाएको ३ वर्षमा फल दिन्छ । तर बोट परिपक्क हुँदै जाँदा फल लाग्ने र उत्पादन बढ्नुको सट्टा उल्टो घट्न पुगेको छ ।
तिलोत्तमा हिमाली फुड एण्ड प्रोडक्स भीमेश्वर नगरपालिका वडा नं. ८ बोचकी उषा थापाले गत वर्ष समयमा पानी नपरेर सुख्खा हुने, काँटछाँट राम्रो नहुँदा उत्पादन घटेको बताइन् । विरुवा परिपक्क हुँदा उत्पादन पनि बढ्छ ।
किवी खेतीकै प्रवद्र्धनका लागि संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत किवी जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ । दोलखाको ६ स्थानीय तहका २२ वटा वडामा यो कार्यक्रम सञ्चालित छ । परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठका अनुसार यस वर्ष ८५५ मेट्रिक टन मात्र किवी उत्पादन भएको छ । जुन गत वर्षभन्दा १० मेट्रिक टन कम हो ।
परियोजनामा २१८ किसानका फर्म आबद्ध छन् । तिनले ३१८ हेक्टरम ाकिवी खेती गरेका छन् । तर गत वर्ष समयमा पानी नपर्नु, असिनाले फूल झर्नु, राम्रो काँटछाट र सिँचाइ मलको अभावमा उत्पादन घटेको अनुमान छ ।
किवी खेतीका लागि किवी जोनका अतिरिक्त स्थानीय तह, बागवानी केन्द्र बोच लगायतले पनि सहयोग गर्दै आएका छन् । व्यक्तिगत रुपमा पनि धेरै बिरुवा किसानले लगाएका छन् । किसानलाई व्यावसायिक बनाउन थाङ्ग्रा, बिरुवा, साना सिँचाइलगायतमा प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले सहयोग गर्दै आएको छ । समयमा पानी नपर्नु र असिनाले फूलमा हुने क्षति जोगाउन पनि किसानले केही उपाय लगाए । तर त्यो अत्यन्तै महङ्गो भएकाले त्यसलाई प्रयोग गर्न सकेका छैनन् ।
जिल्लाका मुख्य बजार क्षेत्रका व्यापारीले फलफूलका नाममा स्याउ, केरा र अनार मात्र बिक्री गर्ने गरेकामा यस वर्षबाट किवी पनि बिक्री गर्न थालेका छन् । खेती बढ्दै गएपछि बजारको समस्या होला कि भन्ने किसानहरु व्यापारी फर्मसम्म आउन थालेकोे शैलुङ गाउँपालिका वडा नं. ८ का किसान विष्णु कार्कीले बताए । बजारको समस्या नहुने भएपछि खेती जति गरे पनि हुने उनले बताए ।