Logo

२१ विपन्न परिवारलाई सामूहिक आवास

नेपालगन्ज-बाँकेको खजुरा गाउँपालिका–३, बी बोरिङमा २१ विपन्न परिवारलाई सामूहिक आवासको प्रबन्ध गरिएको छ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत पहिलो चरणमा करिब ७० लाख रुपैयाँको लागतमा १६ परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरिएको हो । अन्य पाँच परिवारका लागि आवास निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत करिब एक करोड रुपैयाँको लागतमा शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी २१ वटा आवास निर्माण हुन थालेका हुन् ।
डेढ बिघा क्षेत्रफलमा निर्माण गरिएको सामूहिक व्यवस्थित आवासअन्तर्गत १६ वटा घरको शुक्रबार औपचारिक कार्यक्रम गरी लाभग्राही परिवारलाई हस्तान्तरण गरियो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आश्रित परिवारलाई आवास हस्तान्तरण गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेबाहेक अरुले गर्न नसक्ने दाबी गरे । खजुरा गाउँपालिकाले विपन्न परिवारका लागि आवास निर्माण गरेर नमुना काम गरेको भन्दै महासचिव पोखरेलले
काम नगर्ने सत्तारुढ गठबन्धन जनतामाझ जान डराएको बताए ।
स्थानीय तहको निर्वाचन गर्न सरकार हिच्किचाएको आरोप लगाउँदै उनले भने, “जनताको बीचमा जान गठबन्धन डराइ रहेकाले निर्वाचन नगर्न प्रपन्च रचिरहेको छ ।” स्थानीय सरकारलाई कमजोर बनाउने षडयन्त्र भइहरेको भन्दै पूर्वमुख्यमन्त्री पोखरेलले निर्वाचन टारेर रिक्त राख्ने षडयन्त्र भइरहेको धारणा व्यक्त गरे । “जेठमा कार्यकाल पूरा हुन्छ,” स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसक्नुपथ्र्याे,” लोकतन्त्रलाई बलियो बनाउन जनतामाझ जानुको विकल्प नरहेको भन्दै उनले मिलेर खाने दाउमा गठबन्धन लागिरहेको आरोप लगाए । देश अगाडि बढाउन बलियो शक्ति निर्माणका लागि आफ्नो पार्टी अघि बढेको जनाउ दिएका महासचिव पोखरेलले विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने दाबी गर्दै भने, “सामाजिक न्यायको पक्षमा एमाले स्थापित भइसकेको छ ।”
गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न व्यक्तिहरू पहिचान गरी घर उपलब्ध गराइएको बताए । उनले भूमिहीन सुकुम्बासी बसिरहेकै ठाउँमा घर बनाइदिँंदा भन्दा सामूहिक आवासको अवधारणा प्रभावकारी हुने विश्वास गरिएको बताए । “स्थानीय सरकार जनताको नजिकैको सरकारमात्रै होइन, अभिभावक पनि हो भन्ने धारणालाई वास्तविकरूपमा साकार पार्न घरवारविहीनलाई कम्पाउन्ड वालसहितको घर, शौचालय, सडक सबै व्यवस्थित बनाइएको बताए ।
अघिल्लो वर्षभन्दा यो वर्ष थप नयाँ ढंगले व्यवस्थित र सामूहिक आवासको योजना तयार भएको भन्दै कक्षपतिले गाउँपालिकाले जनतासंँग स्थानीय सरकार कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारदेखि गरिब, अतिविपन्न नागरिकलाई विभिन्न किसिमबाट सहयोग गर्दै आइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्