Logo

लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल

खोटाङ-करदाता सेवा कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा २८.१७ प्रतिशत कम राजस्व संकलन गरेको हो ।
कार्यालयले राजस्व विभागबाट यस अवधिमा ७ करोड ५१ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा ५ करोड ३९ लाख ७४ हजार मात्र संकलन गर्न सकेको हो । कर अधिकृत हरि आचार्यका अनुसार पुँजीगत खर्चमा कमी, करदाताको विवरण संशोधनमा ढिलाइ, आर्थिक वर्षको सुरुवाती चरणमा कोभिड–१९ महामारीले कारोबार प्रभावित हुनुुलगायत कारणले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको हो ।
आन्तरिक राजस्व कार्यालय लहान मातहत २०७६ वैशाखबाट सदरमुुकाम दिक्तेलमा स्थापना भई सञ्चानलमा आएको करदाता सेवा कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, ब्याज कर, अन्तःशुल्क र घरबहाल कर संकलन गर्दै आएको छ ।
व्यक्तिगत घरबहाल कर स्थानीय तहमै दाखिला हुन्छ भने प्राइभेट निकायबाट प्राप्त घर बहाल कर मात्र कार्यालयमा संकलन हुने गरेको छ । कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुँदै आएको छ ।
८ सय ९ नयाँ करदता थपिए
कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा ८ सय ९ जना नयाँ करदता थपिएका छन् । आयकरका ३ सय ८१, व्यक्तिगत पानका ३ सय ६७, सरकारी निकायका ३५, अन्तशुल्कका १४ र मूल्य अभिवृद्धि कर दर्ताका १२ जना नयाँ करदाता थपिएका हुन् । योसँगै कार्यालयको राजस्व संकलनमा योगदान गर्ने करदातको संख्या ११ हजार ९ सय ५८ पुगेको कर अधिकृत आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्